|

-युवराज विष्ट

भोजपुर : ससुरालीमा दशैंको टीका थापेर गत असोज २५ गते श्रीमती कर्णशोभासँगै घर फर्केका ८८ बर्षीय वृद्ध दलबहादुर राई बाटोबाटै बेपत्ता भए। खोजी गर्दै जाँदा दलबहादुरको कंकाल मंसिर १ गते भोजपुर नगरपालिका वडा–११ आम्त्तेकस्थित अड्डेडाँडा छेउको सोहन खोलामा फेला पर्‍यो। 

कंकाल फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरले थालेको अनुसन्धानको सुइरो दलबहादुरसँगै माइतीबाट घर फर्केकी उनकी श्रीमती कर्णशोभा र ६५ बर्षीय छोरा हरिबहादुर राईतर्फ सोझियो। कंकाल भेटिएको १ महिना २५ दिनपछि प्रहरीले अन्ततः दलबहादुरको हत्यामा संलग्न रहेको भन्दै उनकै श्रीमती र छोरालाई सार्वजनिक गरेको छ।

यसरी मारिए दलबहादुर 

असोज २५ गते दशैंको टीका थापेर घर नजिकै आइपुगेपछि छोरा हरिबहादुरले ८८ बर्षीय बृद्ध बाबुको घाँटी थिचे र हत्या गरे।

हत्या हुँदा श्रीमती कर्णशोभा पनि सँगै थिइन्। तर उनले कुनै प्रतिवाद गरिनन्। कारण थियो–दलबहादुरकै जेठी श्रीमतीतर्फका छोरा हरिबहादुर र कान्छी श्रीमती कर्णशोभाबीचको अनैतिक सम्बन्ध। 

बाबुको हत्या गरेपछि हरिबहादुरले २८ बर्षीय सन्तोष विक र २१ बर्षीय नारायण विकलाई बोलाए। घाँटी थिचेर मारेपछि घरछेउकै बारीमा ढलेको दलबहादुरको शव डोकामा हाल्न लगाए र घटनास्थलबाट तीन घण्टा पैदल दूरीमा रहेको सोहन खोला किनारमा लगेर फाल्न अह्राए। बाबुको शव तह लगाउनका लागि छोरा हरिबहादुरले विकद्वयलाई ५ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

शव फालिसकेपछि चारै जनाले घटना गोप्य राख्न सहमति जनाएको खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए। दलबहादुरको हत्यामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.