|

जनकपुरधाम : खोला उत्खननको विरोध गर्दा टिपरले किचेर एक युवकको हत्या गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा संचालित चुरियामाई वालुवा प्रशोधन केन्द्र नामक क्रसर उद्योग संचालक पक्राउ परेका छन्।

जनकपुरधाममा आफन्तको घरमा लुकेर बसेको अवस्थामा क्रसर संचालक विपीन महतोलाई प्रहरीले पक्राउ गरेको हो। महतोलाई बिहान जनकपुरबाटै पक्राउ गरी अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

शुक्रबार बिहान उक्त क्रसर उद्योगको ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर ओरही खोलामा स्थानीय २६ वर्षीय दिलीप कुमार महतोको हत्या गरेको थियो। विगत केही दिनदेखि औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गरकै कारण दिलीपको पहिले कुटपिट गरेको र पछि टिपरले किचेर ज्यान लिएको उनका आफन्तले आरोप लगाएका छन्।

टिपर चालक महोत्तरीको बर्दिबास नगरपालिका ९ का मुनिन्द्र महतो घटनालगत्तै पक्राउ परेका थिए। उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतकका बुवा रामजीवन महतोका अनुसर क्रसर संचालक महतोले उनलाई छोरा दिलीपको ज्यान लिने धम्की दिएका थिए। आफू जग्गा भाडमा दिएबापतको रकम लिन गएका बेला संचालक महतोले, ‘तपाईंको छोराले क्रसर बन्द गराउने योजना बुन्दैछ। सम्झाउनु नत्र कुनै दिन मारेर फालिदिन्छु’ भनेको उनले बताए।

यसरी धम्की दिएको तीन दिन नतिबत्दै दिलीपको हत्या भएपछि प्रहरीले क्रसर संचालक महतोलाई पक्राउ गरेको हो। पीडित परिवारले क्रसर संचालक महतो, दिलीपलाई बोलाएर लगेका रोषण यादव, वडाध्यक्ष श्यामबाबु यादव र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवको समेत हत्यामा संलग्नता रहेको आरोप लगाएको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.