|

काठमाडौं : मछिन्द्र फुटबल क्लब शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ।

आर्मीलाई एक अंकले पछि पार्दै मच्छिन्द्र पुन शीर्ष स्थानमा फर्किएको हो। शनिबार भएको खेलमा जावालाखेलविरुद्ध १–० को साँघुरो जित मच्छिन्द्रलाई तीन अंकका लागि पर्याप्त भयो। शनिबार नै भएको अर्को खेलमा मनाङ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिँदा शीर्ष स्थानमा पुग्ने मौका गुमायो।

७२ औं मिनेटमा १० खेलाडीमा सीमित भएको मनाङले पहिलो र दोस्रो हाफमा गोलका केही मौका पाए पनि सदुपयोग गर्न सकेन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रका लागि भने ३१ औं मिनेटको गोलनै टर्निङ प्वाइन्ट बन्यो। विशाल राईले डि बक्स भित्रबाट पाएको आकर्षक अवसरलाई सदुपयोग गर्दा मच्छिन्द्रलाई राहत मिलेको थियो।

जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाए पनि मछिन्द्र थप अवसर सिर्जना गर्न भने असफल भएको थियो। उसका रेजिन सुब्बा, सुजल श्रेष्ठलगायतका खेलाडीले अवसरहरू सदुपयोग गर्न असफल भए। जावलाखेलको भने पाँच खेलको अपराजित यात्रा छैटौं खेलमा आएर टुंगिएको छ। केमि मौकामा जावलाखेल गोल गर्न असफल भयो।

जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको आर्मी १२ अंकका साथ दोस्रो स्थानमा रहँदा समान १२ अंक भए पनि मनाङ तेस्रो स्थानमा धकेलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.