|
फाइल फोटो

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-५ मा क्रसर उधोगको टिपरले किचेर ज्यान लिएको दिलीप महतोको शवको पोष्टमार्टम रोकिएको छ। पीडित परिवारले प्रहरीको मुचुल्कामा चित्त नबुझेको भन्दै पोष्टमार्टम गर्नमा असहमति जनाएको हो।

शुक्रबार बिहान ४ बजे मिथिला नगरपापिलका-५ स्थित औरही खोलामा क्रसर संचालकले गरिरहेको अवैध उत्खननको विरोध गर्दा दिलीपलाई टिपरले किचेर हत्या गरेको थियो। पीडित परिवारले क्रसर संचालक विपिन महतो, वडाध्यक्ष श्यामबाबु यादव, दिलीपलाई बोलाएर लगेका रोषण यादव र धल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवको समेत हत्यामा संलग्नता रहेका आरोप लगाएका छन्।

टिपरले किचेपछि दिलीपको घटनास्थलमै मृत्यु भए पनि प्रहरी निरीक्षक यादव र वडाध्यक्षले हतारहतार शव प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो। दिलीपकी बहिनी लक्ष्मी महतोले भनिन्, ‘दाइ दिलिपको मृत्यु भइसकेको थियो। तर हामीलाई 'टच' समेत गर्न नदिएर शव जनकपुर पठाइयो। यसले हत्यामा उनीहरु"को संलग्नता प्रष्ट देखिन्छ।’

दिलीपको हत्या गरिए पनि प्रहरीले टिपरको ठक्करले मृत्यु भएको भनेर मुचुल्का बनाएको उनका काकाका छोरा वीरेन्द्र महतोले बताए। उनले प्रहरीले सही मुचुल्का नबनाएसम्म पोष्टमार्टमका लागि सहमत नहुने पनि बताए। उनले प्रहरीले नै हत्याको घटनालाई दुर्घटनामा मृत्यु भनेर ढाकछोप गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाए।

यसैबीच केही युवाले दिलीपको न्यायका लागि दबाब दिन प्रदर्शन गरेका छन्। काठमाडौंको माइतिघर मण्डलामा जम्मा भएका युवाले दिलीपका हत्यारालाई कार्वाहीको दायरमा ल्याउन माग गरेका हुन्। उनीहरूले दिलीपलाई पर्यावरण शहीद घोषणा गर्नसमेत माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.