घटनामा संलग्न चारजना सार्वजनिक

|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। 

प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ।

घटनामा संलग्न चारजनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अभियुक्तहरुले दिलिपको कोखामा फलामले घोचेर गम्भीर घाइते बनाएपछि टिपरले टाउकोमा किचेर हत्या गरेको बताएका छन्। 

उनले घटनामा संलग्न क्रसर उद्योग संचालकसहित चारजनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जानकारी दिए । ‘घटनाको अनुसन्धान हुँदैछ', उनले भने, 'संलगन सबैलाई कानुनी दायरमा ल्याएरै छाड्छौं।’

हत्यामा संलग्न चुरियामाई बालुवा प्रशोधन केन्द्र नामक क्रसर उद्योग संचालक बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो, युवक रोशन यादव र लोडर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

टिपर चालक र लोडर चालक महतोले क्रसर संचालकको निर्देशनमा दिलिपलाई किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक दिलिपलाई बोलाएर लगेको भनिएका रोशनको पनि क्रसर संचालकसँग 'कनेक्सन' देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रवार विहान २६ वर्षीय दिलिपलाई घर नजिकैको औरही खोलामा योजनावद्ध ढंगले हत्या गरिएको थियो । यो घटनामा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादब र वडाध्यक्ष श्यामबाबु यादवको संलग्नता रहेको दाबी पीडित परिवारले गरेका छन् । 

घटनास्थलमै दिलिपको मृत्यू भएको अवस्थामा मुचुल्कासमेत नउठाई हतार-हतार जनकपुर अस्पताल लगिएकाले उनीहरुमाथि पनि शंका गरिएको हो। तर प्रहरीले यसबारे केही पनि बोल्न मानेका छैन ।

घटनाको ३६ घण्टापछि शनिबार साँझ पीडित परिवारले दिलिपको शव बुझेका छन्। प्रादेशिक अस्पताल अस्पताल जनकपुरमा पोष्टमार्टमपछि पीडित परिवारले शव बुझेर घर लगेका हुन् । घटना गम्भीर प्रकृतिको भएकाले तीन चिकित्सकले तीन घण्टा लगाएर पोष्टमार्टम गरेका थिए। 

प्रहरीले मुचुल्का गलत बनाएको भन्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए। पीडित परिवारको चित्त बुझ्ने गरी मुचुल्का बनेको विवरण प्रहरीले देखाएपछि शव बुझ्न तयार भएका हुन्। 

दिलिपको दाहसंस्कार शनिबारै राति हत्या भएकै ठाउँमा गर्ने आफन्तले जनाएका छन्। घटनाका दोषीलाई कडा कारबाही माग गर्दै विभिन्न संघसंस्थाले शनिबार जनकपुरमा प्रदर्शन गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.