|

दमक (झापा) : तीन वर्षअघि स्थापित कदम थिएटरले दमक नगरपालिका–९ मा सेउपाखा बहुसांस्कृतिक नाटक घर सञ्चालनमा ल्याएको छ। सेउपाखाको अर्थ धिमाल भाषामा नमस्कार हो। धिमाल जातिलाई दमक नगरपालिकाले नगरको प्रथम नागरिक पनि घोषणा गरेको छ।

भाषिक समावेशिता गराउने उद्देश्यले नाटक घरको नाम सेउपाखा राखिएको थिएटरका महासचिव मोहन ढुंगानाले बताए। नाटक घरभित्र बन्ने संरचनालाई पनि सांस्कृतिक दृष्टिकोणबाट समावेशिता झल्कने गरी बनाइने उनको भनाइ छ। 

थिएटरका सदस्य तथा क्रिएटिम डाइरेक्टर सिजन दाहालले हाल काम चलाउ रुपमा बाँसको बेरा र फुसको छानो भएको नाटक घर सञ्चालनमा ल्याइएको र स्थायी संरचना पनि निर्माणको क्रममा रहेको जानकारी दिए। नाटकघरको शनिवार दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी तथा नाट्यकर्मी राजन खतिवडाले उद्घाटन गरेका हुन्। 

उपप्रमुख अधिकारीले जीवन्त समाजका लागि कलाकारिता अत्यावश्यक रहेकाले यसैको माध्यमबाट समाजमा सकारात्मक परिवर्तनका लागि सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता जनाइन्। यस्तै, वडासदस्य समिन रिजालले नाटक घर को निर्माण र सञ्चालनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए।

उद्घाटनसँगै शनिवारदेखि एक साताको नाट्य कार्यशाला शुरु भएको छ। नाट्य कार्यशालामा रंगकर्मी राजन खतिवडा, सोमनाथ खनाल, गोविन्द पराजुली तथा अष्ट्रियाका रंगकर्मी माइकल थोनाउजरले प्रशिक्षण दिँदैछन्। कार्यशालामा प्रदेश १ का विभिन्न जिल्लाका रंगकर्मी सहभागी छन्।

प्रदेश सरकारको ६० लाख सहयोग

थिएटरको संरचना तथा नाटक घर निर्माणका लागि प्रदेश १ सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त रकमले नाटक घर निर्माण सुरु गर्ने थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले बताए। 

लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताएका उनले थिएटर तथा नाटक घर सञ्चालनले कलाकारिताको व्यावसायिक विकास गराउने र दक्ष कलाकारहरु पनि उत्पादन गर्ने विश्वास व्यक्त गरे। नाटक घरका लागि नगरपालिकाले साढे तीन कट्ठा जग्गा उपलव्ध गराएको छ। यस्तै नगरपालिकामार्फत पाँच लाख रुपैयाँले जमिनसँगै रहेको खोलामा रिटेनिङ् वाल निर्माण गरिएको थिएटरका कोषाध्यक्ष सन्तोस दुलालले जानकारी दिए। 

थिएटरमा रोचकता

बाँसको भाटाले बेरिएको र खरले छाएको नाटक घर निर्माणमा एक सातादेखि कलाकार तथा समितिका पदाधिकारीहरु खटिएका थिए। काम चलाउ रुपमा बनाइएको नाटक घरलाई मौलिक बनाउन मूल ढोकामानै लालटिन झुण्ड्याइएको छ। 

नाटकमार्फत समाजमा सकारात्मक सन्देश र चेतनाको उज्यालो छर्ने लक्ष्यको प्रतीकका रुपमा लालटिन राखिएको थिएटरका सदस्य विनोद तिम्सिनाले बताए। त्यस्तै, शौचालयलाई ‘आइडिया ल्याब’ भनिएको छ। मानिस शौचालयमा बसेको बेला सबैभन्दा बढी स्वतन्त्र हुने र स्वतन्त्रतामानै नयाँ विचारहरुको सिर्जना हुने भएकाले सो नामाकरण गरिएको उनले बताए।

यस्तै थिएटर प्राङ्गणको उत्तर–पश्चिम कुनामा ‘चुर खाने ठाम’ लेखेर जनाउ दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.