|

जनकपुरधाम : पत्रकार उमा सिंह हत्याको ११ वर्ष पूरा भएको छ। २०६५ पुस २७ मा जनकपुरको रौजालस्थित डेरामा उमाको हत्या भएको थियो। दिउँसो चार बजे रेडियो टुडेमा समाचार वाचन गरेर उनी डेरा फर्केकी थिइन्। 

लोडसेडिङका बेला खाना पकाइरहेकै बेला १०/१५ जनाको नाकावधारी समूहले सिरहाको मिर्चैया घर भएकी सिंहको शरीरका कैयौं भागमा खुकुरी प्रहार गरेका थिए। रगतले भिजेकी उनलाई स्थानीयले केयर मेडिकल अस्पताल पुर्‍याए पनि अत्यधिक रगत बगेकाले उनलाई चिकित्सकले पनि बचाउन सकेनन्। 

उमाका बुबा रंजित र दाइ संजय गाउँमै होटल सञ्चालन गर्थे। त्यही बेला २०६३ भदौ १५ मा उनीहरुलाई तत्कालीन माओवादीले अपहरण गरी बेपत्ता पारेको थियो। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ। दुवैको माओवादीले हत्या गरिसकेको बताइएको छ।

बुबा र दाइको हत्यापछि उमाको पनि बिहे गर्ने तयारी चलेको थियो। सिंहकी आमा सुशीलाले केही जग्गा उमाकै नाउँमा गरिदिने र बिहे गरिदिने योजनामा थिइन्। तर‚ उमाकी भाउजु ललिता त्यसको विपक्षमा उभिन्। 

ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी बनाउन उमेश, नेमलाल, चन्देश्वर, धनेश्वर, विजय, विन्दुसमेतको मिलोमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक रामकृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ। सो समूहले उमाको हत्या भएको एक महिनाअघि अपहरण गर्ने प्रयास समेत गरेको थियो। उनीहरूले सम्पूर्ण जग्गा ललिताको नाउँमा दर्ता गरिदिन धम्की समेत दिएका थिए। जग्गासम्बन्धी विवाद चल्दै गर्दा ललिताले तत्कालीन माओवादीका स्थानीय कमान्डर सुभाषमार्फत उमेश यादवसँग कुरा गरी उमाको हत्या योजना बनाइन्। त्यतिबेला उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए। 

यादवले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासवानलाई उमालाई हत्या गर्न एक लाख ५० हजार रुपैयाँको सुपारी दिएका थिए। उनीहरु मिलेर उमाको विभत्स हत्या भयो। हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति समेत निकाले।

धनुषा जिल्ला अदालतले उमा हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने ललिता र उमेश यादवलाई जन्मकैदको सजाय सुनायो। यादवले ललितासँग मिलेर हत्याको योजना बनाएका थिए। हत्याको अभियोगमा ललिता, ललिताको छोरा अभिषेक, सिरहा रामपुरका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सीतापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध पनि धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।

अदालतले २०६८ जेठ २६ मा ललितालाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्मकैदको फैसला गर्‍यो। अहिले ललिता रिहा भएर मिर्चैयास्थित घरमा बस्दै आएकी छन्। यस्तै‚ अदालतले श्रवण कुमार यादवलाई सफाइ दिएको छ। जेलमुक्त भएका यादव मिर्चैया नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। 

उमाकी आमा अझैं विस्थापित

उमाको हत्यापछि उनकी आमा सुशीला एक्लै बस्दै आएकी थिइन्। उनी हाल भारतमा रहेको माइतीमा बस्दै आएकी छन्। ललिता जेलमुक्त भएपछि सुशीला करिब दुई वर्षदेखि नेपाल आएकी छैनन्।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले पटकपटक धम्की दिएकाले सुशीलाले नेपाल आउने आँट नगरेको बताएकी छन्। उनले भने, ‘पत्रकार सिंहको स्मृति दिवस मनाउन ७/८ वर्षसम्म सिरहा आइन्। तर दुई वर्षदेखि आउने गरेकी छैन।’ सुशीलाले सुरक्षाका लागि जिल्ला प्रहरीमा निवेदन दिए पनि कुनै सुनवाइ नभएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.