|

सन् २०२३ मा चन्द्रमाको चक्कर काट्ने तयारीमा रहेका जापानी धनाढ्य युसाकु मिजावा 'महिला जीवनसाथी'को खोजीमा छन्। आफ्नो जीवनसाथीलाई चन्द्रमाको यात्रामा साथै लैजाने उनको योजना छ।

४४ वर्षीय यी फेसन व्यवसायी, स्टारशीप रकेटमार्फत चन्द्रमा घुम्न जाने पहिलो यात्रु हुनेछन्। यसअघि यस्तो यात्रामा वैज्ञानिकहरू मात्रै जाने गरेका थिए। युसाकुको चन्द्रमा यात्रा सन् १९७२ पछिको पहिलो मानव यात्रा हुनेछ।

अनलाइनमार्फत एक सार्वजनिक अपिल जारी गर्दै उनले सो यात्राका लागि विशेष साथीको खोजीमा रहेको बताएका हुन्। उनको हालैमात्र अभिनेत्री अयामी गोरिकीसँग ब्रेकअप भएको थियो। उनले वेबसाइटमा लेखेका छन्, 'एक्लोपन र शून्यताले मलाई बिस्तारै-बिस्तारै सताउन सुरू गरेको छ। त्यसैले, कुनै महिलासँग प्रेममा रहनेबारे सोचिरहेको छु।'

'म जीवनसाथीको खोजीमा छु', युसाकुले लेखेका छन्, 'जसलाई म अन्तरिक्षमा सँगै लैजान सकूँ, र सँगै, ठूलो स्वर निकालेर हाम्रो प्रेम र विश्वशान्तिको कामना गर्न सकूँ।'

भावी जोडीका लागि उनका केही पूर्वशर्त छन्। उनका अनुसार आवदेक महिला 'सिंगल' र २० वर्ष नाघेकी हुनुपर्छ। यस्तै‚ सकारात्मक सोच र अन्तरिक्ष यात्रामा रूचि भएको हुनुपर्छ। युसाकुले १७ जनवरीलाई आवेदनको अन्तिम मिति तोकेका छन्।

चर्चामा आउन बेलाबखत यस किसिमका स्टन्ट गरिरहने उनले यसअघि पनि आफ्नो ट्विट रिट्विट गर्नेलाई करोडौं बाँड्ने घोषणा गरेका थिए। चन्द्रमाको यात्रा गर्ने 'पहिलो प्राइभेट यात्री'का रुपमा नाम आएपछि युसाकुको चर्चा झनै चुलिएको छ। स्पेसएक्स कम्पनीमार्फत चन्द्रमा यात्रा गर्न लागेका उनले त्यसको टिकटमा कति खर्चिए भन्ने खुलाइएको छैन। कम्पनीका सञ्चालक एलोन मस्कले यतिमात्रै भने, 'युसाकुले काफी धेरै रकम खर्च गरेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.