|

विराटनगर : 'अब पनि हामीमा आइसिटीको नलेज नहुने हो भने हाम्रो टिचिङ प्रोफेसन नै धरापमा छ। हामी अब न्यु टेक्नोलोजीअनुसार चेन्ज हुनैपर्छ।'

प्रविधिमैत्री शिक्षक समाज प्रदेश-१ का संयोजक बालकुमार रेग्मीले भने, 'हामी आफैँले आफैँलाई मूल्याङ्कन गरेर हेरौँ त हाम्रा बच्चाहरू हामीभन्दा कति फरवार्ड भएका छन्। बुढेसकाल र पेन्सन पाक्ने बेला भयो भनेर बच्चाले प्रयोग गरेको प्रविधिलाई हेरेर टोलाएर बस्ने हामी?'

बालकुमार जस्तै कास्कीको पोखराका शिक्षक श्रीकान्त पौडेलले पनि प्रविधिले निकै फड्को मारिसकेको अवस्थामा शिक्षकहरू पनि प्रविधिमैत्री बन्नुको विकल्प नरहेको बताए। विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूले ल्यापटप र मोबाइलको सामान्य मर्मत गर्न जानिसकेको अवस्थामा शिक्षकहरूले भने अझै पनि कम्प्युटर खोल्न नजान्नुले समयले शिक्षकहरूलाई गिज्याइरहेको अनुभूति भएको उनको भनाइ छ।

प्रविधिमैत्री शिक्षक समाज नेपालको आयोजना तथा प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा मोरङको विराटनगर महानगरपालिकामा आयोजना गरिएको डिजिटल शैक्षिक सामग्रीहरूको राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन आएका धेरै शिक्षकहरूको भनाइ यस्तै छ।

विज्ञान र प्रविधिको तीव्र विकास हुँदै गइरहेको अवस्थामा शिक्षकले पनि आफूहरूलाई सोहीअनुसार परिवर्तन गराउन नसक्ने हो भने शिक्षकहरूप्रति विद्यार्थीको विश्वास नै कम हुने कार्यक्रममा सहभागी हुन आएका पर्वतका शिक्षक आशिष पौडेल बताउँछन्।

'प्रविधि युजको अवस्थालाई हेर्ने हो भने त शिक्षकले विद्यार्थी होइन कि विद्यार्थीले शिक्षकलाई पढाउने बेला आएको छ' उनले भने, 'अब हरेक शिक्षकले प्रविधिमा धेरै थोरै दक्खल राख्नुपर्छ, होइन भने हामीहरूको जागिर नै जोखिममा छ नि त।'

हरेक विषयसँग मिल्ने डिजिटल शैक्षिक सामग्रीहरू इन्टरनेटमा निःशुल्क पाइने भए पनि शिक्षकहरूमा प्रविधिको ज्ञान नहुँदा ती सामग्रीहरू प्रयोगमा नरहेको भन्दै अमेरिकाको माईक्रोसफ्ट कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा. नवीन खनाल दुःख व्यक्त गरे। संसारलाई नयाँ बाटोमा प्रविधिले नै डोर्‍याएकोले त्यही बाटोमा हिँड्नै पर्ने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अहिलेसम्म शिक्षकहरूलाई प्रदान गरिएका तालिमहरू भत्ता र भातमा मात्र सीमित भएको अनुभव आफूले गरेको बताउँदै प्रविधिको क्षेत्रमा हुने तालिमहरूमा भने त्यस्तो अवस्था आउन नहुने बताए।

’मलाई मेरो ८४ वर्षकी आमाले फ्रेन्ड रिक्वेस्ट पठाउनुभयो, उहाँको नातिले होला भन्ने ठानेँ, त्यही पनि फोन गरेर सोधेको त आफूले खोलेको र त्यसबाट नै विदेशमा रहेका छोरा नातिहरूसँग कुराकानी गर्ने गरेको उहाँले सुनाउनुभयो' उनले भने, '८४ वर्षकी आमालाई फेसबुक चाहिएको छ।

अब अकाउन्ट खोल्न सिकाउने शिक्षकहरूले हो, बुढीआमालाई फोनका फङसन सिकाउने पनि शिक्षकहरूले नै हो।' 'राजाको काम कहिले जाला घाम' गरेजस्तो गरेर अहिलेका शिक्षकहरूले जागिर धान्न नहुने उनको मन्त्री घिमिरेको सुझाव छ।

प्रदर्शनीमा देशका ७७ जिल्लाका झन्डै ५ सयभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा शिक्षण क्षेत्रमा प्रयोग गर्न सकिने गरी शिक्षकहरूले नै तयार पारेका झन्डै ३ सयभन्दा बढी डिजिटल शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएको समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.