मुख्यमन्त्री भन्छन् : चुनाव जित्‍न छल, बल, कल र तन, मन, धन लगाऊँ

|

जनकपुरधाम : अगामी माघ ९ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ। प्रदेश २ बाट चार सिटमा हुन लागेको निर्वाचन आफ्नो पोल्टामा पार्ने कांग्रेस-समाजवादी र नेकपा-राजपा गठबन्धन जोडतोडले लागेका छन्।

दुवै गठबन्धनका नेताहरू आ-आफ्ना उम्मेदवारले जित्ने दावी गरिरहेका छन्। मतदाताको हिसाब गर्दा नेकपा-राजपा गठबन्धनले जित्‍ने लगभग पक्का जस्तै छ। यद्यपि कांग्रेस-समाजवादी नेताहरू चुनाव आफ्नै उम्मेदवारले जित्ने दावी गरिरहेका छन्। 

नेकपा-राजपा गठबन्धन आफ्नो मतदाता प्रदेश सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुखको क्रस मतदान रोक्ने प्रयासमा छन्। कांग्रेस–समाजवादी पार्टीका नेताहरू क्रस मतदान गराउने मुख्य खेलमा जुटेका छन्। 

आइतबार राति बर्दिबासको माइथानमा कांग्रेस-समाजवादीले संयुक्त रुपमा प्रदेशस्तरीय एकदिने गोष्ठीमा नेताहरूले क्रस मतदानका लागि हरप्रयास गर्न जनप्रनिधिलाई निर्देशन दिए। उनले संघीय गणतन्त्रसहितका उपलब्ध जोगाउन पनि राष्ट्रिय सभाका उम्मेदवार जिताउनै पर्ने बताए।

‘नेकपासँग तालमेल गर्दा राजपामा असन्तुष्टि बढेको छ भने धेरै नेताहरू रुष्ट बनेका छन्’, उनले भने, ‘उनीहरूको उम्मेदवार नै आफूहरूलाई फसाएको भनिरहेका छन्। तर हामी उत्साहित छौं। थोरै मेहनत गर्यौं भने हाम्रा उम्मेदवारको जित निश्चित छ।’

यस्तै कांग्रेस उपसभापति निधिले प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायको पनि चासो रहेकाले चुनाव जित्नै पर्ने बताएका छन्। गोष्ठीमा उपस्थित जनप्रनिधि र प्रदेश सांसदहरूलाई उनले भने, ‘तपाई सबैले इमान्दारितापूर्वक लाग्नुभयो भने हाम्रो चारै उम्मेदवार जित्नुहुन्छ।’

‘मतदाताको हिसावले पछाडि रहे पनि अंक गणित र राजनीतिक शास्त्रको गणित फरक कुरा हो’, नेता निधिले भने, ‘राजनीतिमा दुई जोड दुई पाँच र तीन पनि हुन्छ। पाँच भयो भने जित्छ। तीन भयो भने हार्छ। हामीले पाँच पुर्‍याउनुपर्छ।’ उनले आफ्ना मतदाताका साथ साथ विपक्षी दलका मतदातालाई पनि आकर्षित पार्न नेतालाई निर्देशन दिए।

उपसभापति निधिले पार्टीमा गुट-उपगुटका कारण अन्य विषयमा विवाद रहे पनि राष्ट्रियसभा निर्वाचनमा कुनै विवाद नरहेको स्पष्ट पारे। उनले चुनाव जित्नु र हार्नुले केही फरक पर्दैन भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि प्रदेश २ मै रहेकाले चुनाव जित्न हरेक खालका रणनीति अपनाउनुपर्ने बताए।

यस्तै समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छल, बल, कल र तन, मन, धनले निर्वाचन जित्‍न लाग्नुपर्ने बताए। उनले निर्वाचन जित्न सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न प्रदेश सांसद र जनप्रतिनिधिसँग अपिल समेत गरे।

प्रदेश २ को निर्वाचन जित्न विभिन्‍न रणनीति बनाउन र तालिम गोष्ठी गर्न समाजवादीको तर्फबाट प्रदेश २ का अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादब र कांग्रेसको तर्फबाट नेता आनन्द ढुंगानालाई जिम्मेवारी सुम्पेको छ। 

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट नगिना यादव र भोला पञ्जियारले उम्मेदवारी दिएका छन्। समाजवादी पार्टीले अनिरुद्रप्रसाद सिंह यादव र रामप्रीत पासवानलाई उम्मेदवार बनाएका छन्। यता, नेकपा-राजपाका नेताहरू पनि आफ्ना उम्मेदवारलाई जिताउन प्रचार प्रसार सुरु गरिसकेका छन्।

नेकपा र राजपाका नेताहरूले प्रदेश २ का आठै जिल्लाका आफ्ना जनप्रनिधि र प्रदेश सांसदसँग एकचरणको छलफल गरिसकेको बताइएको छ।

उनीहरू जिल्ला जिल्लामा गोष्ठी गरिरहेका छन्। राजपा नेता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामनरेश राय यादवले क्रस भोटिङ नहुने दावी गरे।

उनले बाहिर हल्ला चलेअनुसार पार्टीमा कुनै विवाद नहरेको भन्दै राजपाका मतदाता नेकपामा इमान्दारितापूर्वक मतदान गर्ने बताए। उनले भने, ‘नेकपा मतदाता पनि राजपाका उम्मेदवारलाई निर्धक्क साथ मतदान गर्नुहुन्छ।’ 

नेकपाको तर्फबाट तुलसा दाहाल र राधेश्याम पासवान उम्मेदवार छन् भने राजपाले सर्वसम्मति मृगेन्द्रप्रसाद सिंह यादव र शेखर सिंहलाई उम्मेदवार चयन गरेका छन्। राजपाका मृगेन्द्र र शेखर सप्तरीका हुन्।

पूर्वमन्त्रीसमेत रहेका मृगेन्द्रलाई राजपाले उम्मेदवार बनाएपछि समाजवादीले उनकै सहोदर भाई अनिरुद्रलाई चुनावी मैदानमा उतारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.