विजय मल्लको 'अन्तिम भोज' जस्तै नहोस् नेकपा

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा खरो आलोचकका रूपमा चिनिएका छन् भीम रावल। तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनमा सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित रावल माओवादीसँगको एकतापछि सचिवालयमा परेनन्। 

अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई सचिवालयमा राखे। तर तत्कालीन उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई त्यो अवसर दिएनन्।

कुनै बेला मधेसवादी दलसँगको सम्वादका लागि अध्यक्ष ओलीले आफ्नो विकल्पमा प्रस्तुत गर्ने नेता थिए रावल। ओलीले भन्दा खरो शैलीमा रावलले मधेसवादी दलहरूसँग संवाद गर्थे। रावलको खरो स्वभावको प्रशंसक थिए ओली। तर,अहिले परिस्थिति फेरिएको छ। 

दुईतिहाइ बहुमतसहित केपी ओलीले सरकारको नेतृत्व गर्दाताका भीम रावल मन्त्री बन्ने अपेक्षा थियो। तर, उनी ओलीको रोजाइमा परेनन्। ओलीले गुटगतरूपमा आफ्ना नजिकका नेतालाई मन्त्री बनाए। त्यसपछि मन्त्रिपरिषद् विस्तारका क्रममा पनि ओलीको रोजाइमा थिएनन् रावल। बरु सरकारले दुईतिहाइ बहुमतको सम्मान गर्न नसकेको भन्दै रावलले आलोचना थालिसकेका थिए। 

ओली सरकारमाथि रावलका प्रश्नै प्रश्न

ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि कार्यशैली फेर्न नसकेको भन्दै रावलले सुरुबाटै आलोचना गरे। उनले जनताको विश्वास कायम राख्ने हो भने सरकारले आफ्नो कार्यशैली र कामको पूरै समीक्षा गर्नुपर्ने रावलको मत थियो। उनले ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि भेटेर तथा सामाजिक सञ्जालमार्फत निरन्तर सुझाव दिए। तर, आफ्ना कुरा सरकारले सुन्दै नसुनेको गुनासो उनले गरेका छन्। 

ओली चिढिने प्रश्न

नेता रावलले सरकारको कार्यशैलीबारे प्रश्न उठाइरहेका बेला २०७५ मंसिर दोस्रो साता काठमाडौंमा विवादास्पद एसिया प्यासिफिक सम्मेलन भयो। 

उक्त सम्मेलन सरकार नै आयोजक भएर काठमाडौंको हायात होटलमा गरियो। होलीवाइन पिलाउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपालको विशेष पहलमा यो कार्यक्रम भएको थियो। 

यस कार्यक्रमलाई लिएर रावलले सरकारमाथि पटकपटक गम्भीर प्रश्न उठाए। रावलले ट्वीटरमा लेखेका थिए, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ।’

उनले विवादित कार्यक्रममा देशभरका नेता कार्यकर्ता बोलाएको भन्दै आक्रोश पोखेका थिए। ‘देशभरका पार्टीका नेतालाई उर्दी जारी गरी विवादित कार्यक्रममा बोलाउनु राम्रो भएन,’ उनले भनेका थिए, ‘यो संस्थाको गतिविधि र हाम्रो राजनीतिक कामलाई प्राथमिकतामा राख्दा यो गलत हो। यसले विश्वलाई गलत सन्देश दिन्छ। गलत संस्थालाई नेपालमा ल्याउनुलाई नै विश्वले राम्ररी हेर्दैन।’

सिके राउतसँगको सम्झौता

२०७५ फागुनमा सिके राउतको समूहसँग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्झौतामा पनि रावलले प्रश्न उठाए। सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताबारे प्रष्ट पार्न उनले सरकारलाई चुनौती दिए।

‘नेपाल सरकारलाई म के सुझाव दिन चाहन्छु भने यसमा भएको त्रुटि सच्याइयोस् र एउटा वक्तव्य जारी गरेर नेपाल राष्ट्रको स्वाधीनता र अखण्डताका विरुद्धमा उहाँले (सिके राउत) आजसम्म भनेका कुराहरू फिर्ता गरिएको छ र चन्द्रप्रकाश राउतजीले अब उप्रान्त नेपालको संविधानलाई आत्मसात गरेर नेपाल राष्ट्रको स्वाधीनता अखण्डताअनुरूप शान्तिपूर्ण प्रतिस्पर्धामा जान पूरा तयार छु भनेर वक्तव्य दिनुपर्छ’ रावलले भनेका थिए।

सिके राउतले विगतमा राष्ट्रहित प्रतिकूल गतिविधि गरेकोप्रति माफी नमागेको र ती शब्दहरू फिर्ता पनि नलिएको रावलले बताएका थिए। रावलले प्रतिपक्षी कांग्रेसकै शैलीमा प्रश्न गरेपछि ओली थप चिढिएका थिए।

सैनिक तालिमबारे प्रश्न

नेता रावलले बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति बेहोर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। 
पूर्वगृह र रक्षामन्त्रीसमेत रहेका रावलले नेपालले त्यस्तो सैन्य अभ्यासमा सहभागी हुन नहुने बताएका थिए। क्षेत्रीय संगठनमार्फत सैनिक अभ्यासमा प्रवेश गर्ने काम गरेमा नेपालले दीर्घकालीन, रणनीतिक, राजनीतिक, कूटनीतिक क्षेत्रबाट ठूलो क्षति बेहोर्ने स्थिति हुने उनले बताएका थिए।

नेता रावलले बिमस्टेकका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानसेनापति सहितको विशेष बैठक बस्ने र सैनिक अभ्यासको कुरा गरे पनि त्यस्तो काममा नेपाल सहभागी हुन नहुने बताएका थिए।

त्यसैगरी,पोखरामा भएको अमेरिकी सैन्य अभ्यासबारे पनि रावलले सरकारमाथि प्रश्न गरे। रावलले गत जेठमा पोखरामा अमेरिकी सैनिकको अभ्यासलाई आपत्तिजनक भनेका थिए। जेठ पहिलो सातादेखि पोखरामा अमेरिकासहित ६ देशका सैनिकको संयुक्त सैन्य अभ्यास भएको थियो। उत्तरी छिमेकी चीनले आपत्ति जनाउँदा पनि सरकारले विवादास्पद सैन्य अभ्यास गर्न दिएको भन्दै रावलले लगातार असन्तुष्टि जनाएका थिए।

आइफा अवार्ड

बलिउडको प्रतिष्ठित आइफा अवार्ड अर्बौं खर्चिएर सरकारले गर्न लागेकोमा रावलले ओली सरकारको चर्को आलोचना गरे। गत असारमा सरकारले करिब ४४ करोड रुपैयाँ अनुदान काठमाडौं महानगरपालिकालाई दिएर आइफा अवार्डको तयारी गरेको थियो। तर, चौतर्फी आलोचना भएपछि सरकार पछि हट्यो। 

आलोचकमध्ये एक थिए नेता भीम रावल। उनले भारतीय फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न सरकारले आर्थिक सहायता उपलब्ध गराउन लागेको भन्दै आपत्ति जनाएका थिए।

निजी क्षेत्रको लगानीमा आयोजना हुने अवार्डलाई सरकारले नै आर्थिक सहायता उपलब्ध गराउनु उचित नभएको उनले तर्क गरेका थिए। नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको तर्क गरेका थिए।

इन्डो प्यासिफिक रणनीति 

नेता रावल अमेरिकी रणनीति इन्डो प्यासिफिक र त्यस अन्तरगतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध पनि कडारूपमा प्रस्तुत भए।

ओली सरकारमा मन्त्रीहरू एमसिसीको पक्षमा उभिइरहँदा रावलले जनतालाई ढाँट्न नहुने जिकिर गरे।रावलले पार्टीका जिम्मेवार व्यक्तिलेसमेत ढाटेको आरोप लगाए।

‘अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसिसी इन्डोप्यासिफिक रणनीतिको अंग भएको तथ्य बताइसक्नुभएको छ’, उनले भनेका थिए, ‘नेपाल सरकार र पार्टीका उच्च पदका नेताहरूले एमसिसी इन्डोप्यासिफिक रणनीतिको अंग होइन, संसदबाट पारित गर्छौं भनेर जनतालाई ढाँटेका छन्।’

रावलले विरोध जनाइरहँदा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेकपामा स्थायी समिति बैठकमा एमसिसी इन्डोप्यासिफिक रणनीतिको अंग नभएको बताएका थिए। ज्ञवालीले पत्रकारहरूसँग पनि उक्त कुरा दोहोर्‍याएका थिए।

अमेरिकाले रावलले भनेजस्तै आफ्ना सबै कार्यक्रम इन्डोप्यासिफिक रणनीतिका अंग भएको जनाएको थियो। रावलले अमेरिकाले दिने ५५ अर्बको लोभमा फसेर राष्ट्रिय स्वाधीनता लत्याउन नसकिने बताउँदै आएका छन्।

‘हाम्रो स्वाधीनतालाई अमेरिकी सहयोगसँग तुलना गर्न सकिँदैन। हाम्रो संविधानले कुनै पनि सैन्य गतिविधिमा सहभागी नहुने भनेर स्पष्ट पारेको छ,’ रावलले भनेका थिए, ‘स्वाधीनता खतरामा पारेर सहयोग लिन सकिन्नँ।’

ओलीकै निर्देशनमा सूर्य थापा बोले

नेता रावलले आफूमाथि बालुवाटारबाट भइरहेको निरन्तरको प्रहार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको तहबाट मात्रै नभएको बताएका छन्। 

‘बालुवाटारबाट तलब खानेले पापाराजीले जस्तै लेडी डायनाको अवस्थामा पुर्‍याउँछु भन्नु मार्ने धम्की नै हो। घोषित–अघोषित थ्रेट दिने काम भएको छ’, रावलनिकट स्रोत भन्छ, ‘हिजो झलनाथ खनालसँग निकट हुनेबित्तिकै माधव नेपालको सत्तोसराप गरिएको थियो।

तिनैले केपी ओलीलाई बालुवाटार प्रवेश गर्न नदिनेसम्मका हर्कत गरे।अमूक नेताको नाममा पछिल्लोपटक अध्यक्ष प्रचण्डमाथि जाइलाग्ने काम पनि माथिल्लो तहकै निर्देशनअनुसार भएको हो।’

नेता रावलले आफूमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीकै निर्देशनमा जेहाद छेडिएको बुझेका छन्। ‘सरकारले काम गर्न नसकेको अवस्थामा खबरदारी गर्नु सबै नेता कार्यकर्ताको दायित्व हो। तर, खबरदारीलाई सहन नसक्नेहरूले निरंकुश चरित्र देखाउँदै जेहाद छेडेको जस्तो देखिन्छ’, रावलको तर्क छ, ‘हामीले बिमस्‍टेक सैन्य अभ्यास, पोखराको अमेरिकी सैन्य अभ्यास, इन्डो प्यासिफिक रणनीति, आइफा अवार्ड, लिपुलेकको मुद्दा र होलीवाइनको मुद्दामा राष्ट्रहितका लागि बोलेका हौँ। कुनै नेता या गुटको विरोध गरेको होइन।’

रावलले जनभावाना सम्बोधन गर्न सरकार चुकेको आवाज उठाउँदै आएका छन्। ‘कम्युनिट पार्टीले बाटो बिराउनु हुन्न भनेको हो। कसैको आलोचना गरेको होइन। जनताका आशा अपेक्षा, भरोसामा विश्वास कायम गर्न सकेनौँ भने यही हैसियतमा नेकपा रहन्छ कि रहँदैन भन्ने चिन्ता हो,’ रावलको अर्को तर्क छ, ‘पहिले त देश बचाउनुपर्‍यो। देशको स्वाभिमान र स्वाधीनतामा कुनै असर पर्नु भएन।’

रावलले बालुवाटारभित्रबाट नेता सूर्य थापाको नाममा आफूमाथि भइरहेको प्रहार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थाहा पाएरै भइरहेको ठानेका छन्।

‘हामीले अहिलेसम्म बोलेका सबै कुरा सत्य सावित भएका छन्। यसमा एकैजना व्यक्ति छुचो हुनुपर्ने, साखुल्ले हुनुनपर्ने किन? हिजो वामदेव गौतमलाई चुनाव हराउन लागेको मान्छेलाई प्रयोग गरेर प्रधानमन्त्रीले यस्ता गतिविधि गर्नु पटक्कै सुहाउने कुरा होइन’, उनले आइतबार सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा पनि भनेका छन्, ‘प्रधानमन्त्रीको निर्देशनमै यस्तो भएको हो। बालुवाटारको छायाभित्र बसेर यस्तो गर्न मिल्दैन। अनुशासन उसले पनि तोडेको छ। भीम रावलले सडकमा कविता भनेको होइन। नेपालविरुद्ध नाकाबन्दी गरेका राजेन्द्र महतोसँगको गठजोडबारे कविताबाट प्रश्न उठाउँदा किन यतिसम्मको धम्की दिइयो।’

पद नपाएको बारे

नेता रावलले आफूमाथि लागेको पद नपाउँदा जथाभावी बोलेको आरोपको पनि कडा प्रतिवाद गरेका छन्। ‘चुनावमा पराजित भएर पनि वामदेवले प्रधानमन्त्री पद ताकिरहेका छन्। कहिल्यै नजितेका विष्णु रिमाल प्रधानमन्त्रीका सल्लाहकार छन्। युवराज खतिवडाले अर्थमन्त्री बन्न चुनाव जित्नै परेन,’ रावलनिकट एक नेता भन्छन्, ‘झापा, मोरङका मान्छेले मात्रै पद पाउनुपर्ने हो? गम्भीर स्वास्थ्य समस्या झेल्दा पनि केपी ओलीले पद छाड्नुपर्दैन? पदको आशक्ति नभए यो अरू के हो? अनि उल्टै पद नपाएको छटपटी भनेर आरोप लाउन कुन नैतिकताले दिन्छ?

रावलले सरकारको कार्यशैली नफेरिए विजय मल्लको ‘अन्तिम भोज’ कथाको याद गर्ने दिन धेरै टाढा नभएको पनि नेतृत्वलाई सुझाएका छन्। ‘देशभर ब्रह्मलुट मच्चाउन लागेका छन्। सार्वभौमिकता बाजी राखेर एकपछि अर्को बदमासी हुँदैछ। देश रह्यो भने मात्रै हाम्रा सबै अभीष्ट पूरा हुन्छन्। अर्कातिर उपसभामुखका कारण संसद् बन्धक छ’, उनले भनेका छन्, ‘यस्तो अवस्था विजय मल्लको कथा सम्झाउँछ। यो प्रवृत्ति निरुत्साहित हुन जरुरी छ।’

नेता रावलले बहादुर शाहले जस्तै केपी ओलीका नाममा नायवी चलाउन खोज्नेका कारण देश अफ्ठेरोमा परेको तर्क गरिरहेका छन्। उनले यो अवस्थाको प्रतिवाद गर्नुको विकल्प नरहेको भन्दै आफ्नो अडानबाट पछि नहट्ने जिकिर गरेका छन्। 

सूर्य थापाले के भनेका थिए?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्यबीच केही महिनायता जुहारी चलिरहेको छ। नेता रावलले सरकारबारे उठाएका प्रश्नको जवाफ दिँदै नेता थापा उल्टै प्रतिप्रश्न गरिरहेका छन्। 

मंसिरमा एक सातासम्म बसेको नेकपा स्थायी कमिटीको बैठकदेखि नेता रावल र थापाबीच विवाद सुरु भएको थियो। त्यसबेला थापाले स्थायी कमिटीका निर्णय प्रवक्ताले नभनी रावलले पत्रकारलाई भनेको भन्दै आक्रोश पोखेका थिए। 

यहाँबाट सुरु भएको विवाद बढ्दै गएपछि रावलले आफू केपी ओलीसँगै जेलमा हुँदा थापा १० महिनाको नाबालक रहेको तर्क गरेका थिए। यसको अर्थ थापाले आफूसँग तर्क गर्नु केटाकेटीपन हुने बताएका थिए। 

त्यसयता रावल–थापा दोहोरी रोकिएको छैन। पछिल्लोपटक यही पुस १४ गते रावलले लेखेका दुईवटा कविताको तस्वीर राखेर थापाले लामो स्टाटस लेखे। जसमा बेलायती राजकुमारी लेडी डायनाको पनि प्रसंग थियो। यो स्टाटसमा थापाले रावलमाथि गम्भीर प्रश्न गरेका थिए। 

के भनेका थिए थापाले?

कमरेड,
‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त?

पार्टीले तपाईंका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुत गरिएको जानकारी अनुरोध छ।

म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर, स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवम् भर्त्‍सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईंका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत पक्षले क्रमश: पापराजीको फन्दामा उहिले डायना परेजस्तो वा आज तपाईं परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला!

तपाईंको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि! विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफूअनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्दि!

के हो बालुवटारको धम्की? 

प्रधानमन्त्रीका सल्लाहकार थापाले यही स्टाटसमार्फत मार्ने धम्की दिएको निचोड रावलले निकालेका छन्। थापाको यो स्टाटसमा बेलायती राजकुमारी लेडी डायनाको प्रसंग छ। जसमा  ‘....तपाईंका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत पक्षले क्रमश: पापराजीको फन्दामा उहिले डायना परेजस्तो आज तपाईं परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला!’

यही प्रसंगलाई रावलले आफूमाथि बालुवाटारले मार्ने धम्की दिएको रूपमा बुझेका हुन्। 

त्यसपछि नेता रावलले आइतवार सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा थापाको यही स्टाटसलाई जोड्दै आफूलाई बालुवाटारबाट मार्ने धम्की आएको बताएका हुन्।

....‘मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानकोसमेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनुपर्‍यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो विडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाज हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेले राम्ररी सम्झिनुपर्छ।’

उनले आफूलाई आएको धम्कीबाट कति पनि विचलित नहुने बताएका छन्। ‘म त्यस धम्कीले डराउँदिनँ। म प्रत्येक व्यक्तिलाई के कुराको  पनि स्मरण गराउन चाहन्छु भने यो धर्तीमा कोही व्यक्ति पनि अजर अमर छैन भन्ने कुराको हेक्का राख्नुपर्छ’, उनले भनेका छन्, ‘यहाँ खोलिने राजनीतिक दल, हामी राजनीतिक दलका सदस्य, प्रतिनिधिसभाका सदस्य माध्यम मात्र हौं। नेपाल हाम्री आमाभन्दा पनि ठूली छन्।  ठूली ठान्छौं, हामी यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहिरन्छ।’

उनले नेपालीले राष्ट्र हितको कुरा गर्दा, देशको स्वाधीनताको कुरा गर्दा अखण्डताको कुरा गर्दा झुक्न नहुने बताएका छन्। ‘हाम्रो राष्ट्रहितको कुरा गर्दा कोही पनि नझुकौं, नलत्रियौं, हामी उभिएर देशको स्वार्थको कुरा गरौंभन्दा भीम रावलले पापाराजीले गरेजस्तै लेडी डायनाको अवस्थामा पुग्नुपर्ला भनेर बालुवाटारको मान्छेले भन्दा देशभक्तहरूको मन रोएको हुनुपर्छ’, उनले अगाडि भनेका छन्,‘तर म रोएको छैन म दृढ छु,यस्तै कुराले देश कमजोर हुन्छ, कतिपय देशको अस्तित्व गुमेको हामीले देखेका छौं।’

रावलले आफूले राष्ट्रभक्तिको कुरा गर्दा धन्यवाद पाउनुपर्नेमा उल्टै मार्ने धम्की आएको गुनासो गरे। ‘राष्ट्रको पक्षमा आवाज उठाउँदा धन्यवाद मिल्ला भन्ने ठानेको थिएँ। उल्टै ज्यानको धम्की आयो। त्यस्तो धम्की दिनेहरू निरंकुश व्यवस्थामा पनि थिए। मानिसको भौतक शरीर जान पनि सक्छ तर त्यो भन्ने व्यक्तिहरूले के कुरा हेक्का राख्नुपर्छ भने मान्छेका विचार खासगरी राष्ट्र र जनताको मतमा अभिव्यक्त विचार कसैको धम्की र कसैको निरंकुश व्यवहारबाट मेटिँदैनन्। हराएर हराउँदैनन्। यो कुरा प्रमाणित भइसकेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.