वुल्फ कुकिअरको बुझाइको स्तर कमालको

|

एजेन्सी :  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नयाँ ग्रह पत्ता लागेको घोषणा गरेको छ। आफ्नो स्याटेलाइटले नयाँ ग्रहको प्रमाण हात पारेको नासाको घोषणामा भनिएको छ। इन्टर्नका रुपमा नासा छिरेको तीन दिनमै वुल्फ कुकिअर नामका १७ वर्षीय किशोरले नयाँ ग्रहको प्रमाण प्राप्त गरेका हुन्।

ट्रान्सिटिङ एक्सोप्लानेट सर्वे सेटेलाइट (टेस) ले उक्त ग्रहबारे धेरै जानकारी हासिल गरेको छ। नासाले जनाएअनुसार, उक्त ग्रह पृथ्वीबाट १३,०० प्रकाशवर्ष टाढा छ।

टेस स्याटेलाइटले कुनै ग्रहको परिधि पत्ता लगाएको यो पहिलो घटना हो। वैज्ञानिकहरूले उक्त ग्रहको नाम 'टिओआई १३३८ बी' राखेका छन्। टिओआई अर्थ, टेस अब्जेक्ट अफ इन्ट्रेस्ट हो।

'इन्टर्न' ले कसरी पत्ता लगाए?

टेस स्याटेलाइटमा जडान गरिएका चार क्यामेराहरूले प्रत्येक ३० मिनेटमा ताराहरू बदलिँदो छविलाई रेकर्ड गरिरहन्छन्, जसको सहारा लिएर वैज्ञानिकहरूले ताराको चमकमा आएको परिवर्तन दर्शाउने ग्राफ तयार गर्छन्।

एउटा फोटोमा देखिएको तारा अर्को फोटोमा देखिएन वा त्यसको चमक कम भएको देखियो भने उक्त ताराको अगाडिबाट कुनै ग्रह गुज्रियो भन्‍ने अर्थ लगाइन्छ। 

टेस स्याटेलाइटले खिचेका तस्बीरहरू 'टेस सिटिजन साइन्स प्रोजेक्ट' मा अपलोड गरिएको थियो। नासाले इच्छुकहरूलाई आफ्नो अनलाइन प्रशारणमार्फत ताराहरूको चमक र त्यसको प्रवृत्ति अवलोकन गर्न भनेको थियो। 

तीन दिनअघि मात्रै 'इन्टर्न' का रुपमा नासा छिरेका १७ वर्षे कुकिअरलाई पनि तिनै भिडियो तथा फोटोहरूमार्फत ताराहरूको गतिविधि जाँच्‍ने काम दिइयो। उनी वैज्ञानिक भेसेलिन कोस्तोभको मातहतमा काम गर्न थाले।

स्कुले ठिटोलाई इन्टर्नमा राखेको कोस्तोभको पनि पहिलो अनुभव थियो। उनले भने, 'मैले उसलाई सरसर्ती के गर्ने, कसरी नगर्ने भन्‍ने जानकारी दिएँ। उसको बुझाइको स्तर कमालको थियो।' हुन पनि तेस्रो दिनमै कुकिअरले कमाल गरिदिए, पृथ्वीभन्दा ६.९ गुणा ठूलो ग्रह पत्ता लगाए। 

'एक दिन म तिनै डेटाहरू केलाइरहेको थिएँ। भोलेन्टिअरहरूले चिनो लगाएका ठाउँहरूमा मेरो ध्यान केन्द्रित थियो। उनीहरूले ग्रहण वा छाया परेजस्तो ठाउँहरूमा चिह्न लगाएका थिए। मैले तिनैमध्ये दुई तारालाई एकअर्काको घेरामा घुमिरहेको पाएँ। एकले अर्कामाथि ग्रहण लगाएको पनि देखियो', उनले भने, 'म नासा छिरेको तेस्रो दिनको कुरा हो., मैले टिओआई १३३८ सिस्टममा केही संकेतहरू देखें। सुरूमा त ताराहरूकै छायाँ हो भन्‍ने लाग्यो। तर यो त ग्रह पो निस्कियो।' 

कुकिअरले टिओआई १३३८ सिस्टममा शंकास्पद गतिविधि देख्‍नेबित्तिकै कोस्तोभलाई जानकारी दिए। 'केही घण्टा अध्ययन गर्नासाथ हामीलाई थाहा भइसकेको थियो। यो ग्रह नै हो', कोस्तोभ भन्छन्, 'हामी ९९ प्रतिशत पक्का थियौं। त्यसपछि हामीले बाँकी साथीहरूको सहयोग लियौं।'

ग्रहआदिबारे नयाँ संकेतहरू प्राप्त हुँदा यन्त्र-उपकरण आदिको मात्रै भर पर्न सकिँदैन। बलियो रिजोलुसनका तस्वीर वा भिडियोमार्फत तारा वा ग्रहहरूको अध्ययन गर्न मान्छेका आँखा सबैभन्दा भरपर्दा हुन्छन्। कुकिअरले पत्ता लगाएको तथ्यलाई बारम्बार अध्ययन गरेपछिमात्रै नासा अन्तत: 'नयाँ ग्रह भेटिएको' निष्कर्षमा पुगेको हो।

नासाले उक्त नयाँ ग्रह कम्तीमा आउँदो एक करोड वर्षसम्म आफ्नो कक्षमा स्थिर रहने अनुमान गरेको छ। टिओआई १३३८ सिस्टमका दुई तारामध्ये एउटा सूर्यभन्दा १० प्रतिशत ठूलो छ भने अर्कोचाहिँ सूर्यको एक तिहाइ मात्र छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.