|

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई सुनाइएको मृत्युको सजाय रद्ध भएको छ। लाहोर हाइकोर्टले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने विशेष अदालतलाई नै गैर कानुनी भनेको छ।

न्यायाधीश मुजाहिर अली नकवीको नेतृत्वमा लाहोर हाइकोर्टको तीन सदस्यीय बेन्चले मुशर्रफको याचिकामा सुनुवाई गर्दै मृत्यु दण्डको सजाय रद्ध गर्ने फैसला सुनाएको हो। मुशर्रफले विशेष अदालतको फैसलालाई चुनौती दिँदै हाइकोर्टमा याचिका दायर गरेका थिए। अदालतले आफ्नो फैसलामा विशेष अदालतको सबै कारवाहीलाई पनि रद्ध गरिदिएको बिबिसीले जनाएको छ।

एडिशनल अटार्नी जनरल इश्तियाक ए खानका अनुसार यो फैसलापछि मुशर्रफको सजाय पनि सकिएको छ। डिसेम्बर १७ मा विशेष अदालतले पूर्व राष्ट्रपति मुशर्रफलाई देशद्रोही ठहर गर्दै पाकिस्तानको संविधानको आर्टिकल ६ अनुसार मृत्युदण्ड दिने आदेश दिएको थियो।

हाइकोर्टले आफ्नो फैसलामा विशेष अदालतले कानुनी आवश्यकता पूरा नगरेको र उनीविरुद्ध मुद्दा दर्ता गर्ने अधिकारका लागि कुनै अनुमति नलिएको समेत ठहर गरेको छ। अदालतले कुनै पनि अभियुक्तको गैर-उपस्थितिमा उसको परीक्षण गर्नु गैर-इस्लाम, गैर-कानुनी र गैर-संवैधानिक हुने बताएको छ।

अदालतमा मुशर्रफको तर्फबाट दायर याचिकामा विशेष अदालतको फैसला अनियमितता र विरोधाभासपूर्ण रहेको उल्लेख गरिएको थियो। सन् २०१३ को निर्वाचन जितेपछि पाकिस्तान मुस्लिम लिग (नवाज) ले सत्तामा आएपछि पूर्व राष्ट्रपति मुशर्रफविरुद्ध संविधान उल्लंघनको आरोपमा मुद्दा दर्ता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.