|

कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ मा असिनाले करिब एक करोड रुपैयाँको तरकारी बालीमा क्षति पुर्‍याएको छ।

गत शनिवार परेको असिनाले बालवाफाँटा, मौरिफाँटा, बञ्जरियालगायतका क्षेत्रमा लगाइएको तरकारी र तेलहन बालीमा क्षति पुर्‍याएको हो। नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीका अनुसार असिनाले २६० जना किसानले २१५ दशमलव ५९९ बिघा खेतमा क्षेत्रफलमा लगाएका तरकारी र तेलहन बालीमा क्षति पुगेको छ।

कृषि शाखाले संकलन गरेको विवरणमा ६६ बिघामा लगाइएको काउली, २५ बिघामा लगाइएको बन्दागोभी, १७ दशमलब ६ बिघामा लगाइएको गोलभेडा, २८ दशमलब ५ बिघामा लगाइएको आलु, १६ दशमलब २ बिघामा लगाइएको खुर्सानी, दुई कठ्ठामा लगाइएको ब्रोकाउली, ९५ बिघामा लगाइएको तोरी र ६२ बिघा लगाइएको मसुरमा क्षति पुगेको छ। 

बालुवाफाँटाका किसान खगेन्द्रप्रसाद चौधरीले असिनाबाट तीन बिघा दश कठ्ठामा लगाइएको तरकारी नष्ट भएको बताए। डेढ बिघामा लगाइएको काउली र अन्य जग्गामा लगाइको बन्दा, गोलभेडा र आलु खेती असिनाले नष्ट भएको उनको भनाइ छ। उनले भने, ‘२० लाख रुपैयाँ बराबरको तरकारी नष्ट भएपछि मर्कामा परेका छौं।’

सोही ठाउँका हरिराम चौधरीको दुई बिघा खेतमा लगाएको काउली, बन्दागोभी र गोलभेडा खेती पूर्णरुपमा क्षति गरेको छ। रोप्नका लागि किसानले तयार गरेका र रोपेका बेममौसमी काउली, बन्दा, प्याज, लहरे तरकारीका विरुवामा समेत असिनाले क्षति पुर्‍याएको छ। 

बालीबालुवाफाँटा तरकारी खेतीमा जिल्लामै अग्रणी रहेको छ। नगरपालिकाको यो क्षेत्र तरकारी पटेक क्षेत्रका रुपमा रहेको छ। तरकारी, तेलहन र मसुरो खेतीमा असिनाले क्षति गरेपछि किसान क्षतिपूर्तिका लागि नगरपालिका कार्यालय धाउन थालेक छन्।

असिनाले क्षति गरेको तरकारी बालीको अनुगमन गरी फर्किएका नगर प्रमुख कर्णबहादुर हमालले तत्काल राहतका लागि वडा कार्यालय मार्फत एक लाख रुपैयाँको बिउबिजन उपलव्ध गराउने बताए। ‘अपुग रकम नगरपालिका कार्यालय बाट व्यहोर्छौं,’ उनले भने, ‘किसानले व्यहोरेको क्षति पूर्तिका लागि प्रदेश र संघीय सरकारलाई गुहारेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.