|

डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि शर्मा केही दिनअघि हेलिकोप्टरबाट उपल्लो डोल्पा पुगिन्। उनले कात्तिकदेखि नै हिउँ पर्न सुरु हुने उपल्लो डोल्पामा पुस अन्तिमतिर त्यहाँका डाँडाकाँडा र गाउँबस्तीहरु हिउँले भरिभराउ र रमणीय होलान् सोचेकी थिइन्।

तर‚ उपल्लो डोल्पा उनले सोचेभन्दा ठिक उल्टो थियो। डाँडाकाडा र गाउँवस्ती हिउँले ढाकिएर सेताम्य भएका थिएनन्। काला र नाङ्गा पहाड मात्र पो थियो।

पाँच हजार मिटर उचाइमा पर्ने डाँडाकाँडामा पुस अन्तिम साता पनि राता र ससाना घाँस उम्रेको प्रस्ट देखिन्थ्यो। करिब पन्ध्र हजार फिट माथिसम्म उड्दै उपल्लो डोल्पा पुगेकी शर्माले धो, तिन्जे, साल्दाङ्गलगायतका वस्ती नाङ्गै देखेपछि उनी आश्चर्यमा परिन्। तिन्जे गाउँमै हिउँ नभएपछि हेलिकप्टरबाट झरेर हिउँसँग फोटो खिच्ने इच्छा समेत पूरा हुन नसकेको उनले बताइन्। 

'अघिल्लो वर्षतिर यही समयमा उपल्लो डोल्पा पुग्दा हिउँले पहाड पुरिएको हुन्थे तर अहिले डाँडाकाँडा र गाउँबस्ती तल्लो डोल्पामा जस्तै नाङ्गै राताराता देखिन्छन्‚’ उनले भनिन्, 'खोला तथा खोल्सीमा थोरै थोरै हिउँ जमेको छ, डाँडापाखामा सामान्य तुसारो मात्र छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको मैले पाएँ।’

सहायक सिडिओ शर्मा मात्र होइन‚ ‍उच्च हिमाली क्षेत्रमा पर्ने डोल्पामा यस सिजनमा पनि खोला र खोल्साबाहेक अन्य ठाउँ नाङ्गा र काला भएको देख्दा त्यहाँका स्थानीय समेत अचम्ममा परेका छन्। 'धेरै हिउँ पर्ने भएकाले यहाँका अधिकांश सर्वसाधारण जाडो छल्न बेंशी झर्थे,’ फोक्सुण्डोका स्थानीय निमा गुरुङ्गले भने‚ ‘केही वर्ष यतादेखि कम हिउँ पर्न थालेपछि काठमाडौं जाने र ब्यापारका कामले बाहेक झर्दैनन्।' उपल्लो डोल्पामा पछल्लो वर्षहरुमा तापक्रम पनि बढ्दै गएको उनको अनुभव छ।

उपल्लो डोल्पाका अन्य सर्वसाधारणको अनुभव पनि निमासँग मिल्छ। पुस लागेदेखि मात्रै सात/आठ पटक हिउँ परिसक्दा पनि उपल्लो डोल्पामा हिउँ नजम्नुलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर रुपमा लिन सकिने जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताउँछन्।

‘साथीहरु तराईका जिल्लाबाट फोन गरेर डोल्पा त हिमाली जिल्ला खुबै हिउँ परेको होला भन्छन्। हिउँमा रमाउन पाउने तँ त भाग्यमानी भनेर जिस्काउँछन्‚’ आचार्यले भने, ‘खासमा साथीहरुले भनेजस्तो डोल्पा छैन। डोल्पामा प्रत्येक वर्ष हिउँ पर्ने समय घट्न थालेको छ। पाँच छ वर्षअघिसम्म यस सिजन हिउँले भरिभराउ हुने डाँडाकाँडा काला र सुख्खा देखिन्छन्।’  यस पटक तल्लो डोल्पामा मुस्किलले जम्ने गरी एक पटक मात्र हिउँ परेको उनले बताए। अघिल्लो वर्ष यही सिजनमा तीन/चार पटक हिउँ परिसकेको थियो।

उपल्लो डोल्पामा मात्रै नभई तल्लो डोल्पाका विभिन्न बस्तीमा समेत पानीका मुहान सुक्न थालेका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँ र रसी गाउँमा पानीका मुहान सुकेर बस्तीनै सार्नुपर्ने अवस्था आउन थालेको नगरपालिकाले जनाएको छ। अघिल्लो वर्षभन्दा यो वर्ष ठूलीभेरी नदीमा पानीको वहाव घटेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.