|

मुगु : अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ। गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरीपछि जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रावले बाटोमै मृत्यु भएको हो।

मृत्यु भएकी सुत्केरी धनरुपा विक जिल्ला सदरमुकाम गमगढी देखि २ घण्टा टाढा जिउला गाउँकी थिइन्, उनी गाउँमा वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी भएकी थिइन्। 

शिशु जन्मेको लगातार चार घण्टासम्म लगातार रक्तश्राव भएको थियो। सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचरमा बोकेर ल्याउँदा ल्याउँदै मृत्यु  भएको थियो।

आमाको मृत्युपछि नवजात शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका बाबु रामबहादुर  विकले बताए। विकका अनुसार नवजात शिशुलाई गाउँकी आमाहरूले आलोपालो गरेर आजभोलि स्तनपानमा सहयोग गरेका छन्। शिशुलाई नियमित स्तनपान नहुँदा समस्या भएको छ। शिुशलाई स्तनपान र पालन पोषणका निम्ति कोही कसैले सहयोग गरिदिए धर्म लाग्ने विकले बताए।

जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल बाटो भएकाले समयमै सुत्केरीलाई अस्पाताल लान नसकेकाले सुत्केरी पत्नीको ज्यान बचाउन नसकिएको उनको भनाइ छ। विकको घरमा नवजात शिशुभन्दा अगाडिका चार बच्चा छन्। उनीहरूको पालनपोषण र शिक्षा दीक्षामा ठूलो समस्याले पिरोलेको विकले दुखेसो  पोखे।

सञ्‍चार अवरुद्ध हुँदा समस्या

मृतक धनरुपा सुत्केरी भएका  बेला हिमपातले जिल्लामा सञ्चार अवरुद्ध भएको थियो। त्यसैवेला जिल्लामा कुनै सम्पर्क गर्न नसक्दा राष्ट्रपति महिला तथा ज्‍येष्ठ नागरिक उत्थान कार्यक्रमले सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्ने गरे पनि सञ्चारका कारण सम्पर्क हुन नसक्दा समस्या भएको थियो। तर, जिल्लामा उक्त कार्यक्रमले यसभन्दा अगाडि नौजना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिसकेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.