सुर्खेत : माघे संक्रान्तिको अवसर पारी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मगर सांस्कृतिक संग्रहालयको शिलान्यास गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर नगरपालिका-९ मा स्थापना गरिएको मगर समुदायको सांस्कृतिक संग्रहालयको शिलान्यास गरेका हुन्।
संग्रहालयको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले मगर भाषा लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘मगर भाषा लोप हुने अवस्था रहेको छ’, उनले भने, ‘आफ्नो भाषाको लिपि तयार गरि छोराछोरी पढाउनूस्।’
आफ्नो भाषाप्रति गौरव गर्न मगर समुदायलाई आग्रह गर्दै मुख्यमन्त्री शाहीले मगर संस्कृतिको रक्षा अरू कुनै जाति र समुदायले नगर्ने बताए। ‘मगर समुदायको भाषा र संस्कृति अरूले संरक्षण गरिदिने होइन्, गर्देनन् पनि, तपाईंहरू आफैँले गर्ने हो,’ उनले भने ‘आफ्नो भाषाप्रति गौरव गर्नूस्।’
उनले मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताउँदै राजनीतिक आन्दोलन समाप्त भएकोले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे।
बजेट अभावकै कारण संग्रहालय निर्माणमा अवरोध नहुने उनको भनाइ थियो। ‘भाषा संस्कृति एवं विभिन्न जातजातिका भेषभुषाको संरक्षण गर्नु अबको चुनौती रहेको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ-आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्छ।’
मगर संघका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गरेको दुई कट्ठा जग्गामा ३ करोड, ६८ लाख, ६८ हजार लागतमा संग्रहालय निर्माण शुरु भएको हो।
निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले ७५ लाख, सुर्खेत-२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी १ करोड ५० लाख संकलन भएको बताए।
विद्युतीय भर्याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर संग्रहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, संघअन्तर्गतका भ्रातृ संस्थाका कार्यालय, बुद्ध पूजा कक्ष र सभाहल रहनेछन्। भवन परिसरमा जग्गा दाता जहरसिंह थापाको अर्धकदको प्रतीमासमेत राखिने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।