|

बुटवल : बुटवल उप-महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता-२०७६ हुने भएको छ।

एन्फा टेक्निकल सेन्टरमा माघ २ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी गराएको छ। आयोजक समितिका संयोजक तथा बुटवल उप-महानगरपालिकाको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्द बहादुर काउचाले राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए ।

उमेर समूहका खेलाडीलाई प्लेटफर्मको आधारका रूपमा प्रतियोगिता भएको र बुटवल उपमहानगरअन्तर्गतका विभिन्न २४ वटा विद्यालयले प्रतिस्पर्धा गर्नेगरी तालिका तय भएको उनको भनाइ छ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनोट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागिता पाउने गरी प्रतिस्पर्धा गराइएको समितिका सदस्य तथा उक्त प्रतियोगिताका सदस्य सचिव प्रेमबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार प्रतिस्पर्धामा सहभागी हुने २४ वटै विद्यालयले सबै इभेन्ट्समा भने प्रतिस्पर्धा गरेका छैनन्। कतिपयले आफूले जित्न सक्ने प्रतियोगितामा मात्रै सहभागिता जनाउने बताएको उनको भनाइ छ।

नगर खेलकुद विकास समितिका अर्का सदस्य एवं खेलाडी उमेश थापाले एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने गरी प्रतियोगिताको सेड्युल बनाइएको बताए। जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिता समावेश गरिएको थापाले जनाए। यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिता हुने छन्।

यसैगरी, भलिबल, कबड्डी गरी प्रतियोगिता गरिने भएको नगर खेलकुद विकास समितिका सदस्य तथा भलिबल प्रतियोगिताका संयोजक नवीन थापा सारुले जानकारी दिए। भलिबल खेल पनि देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा गराइने छ।

यसैगरी मार्शल आर्टतर्फ कराँते, तेक्वाडो, उसु जिल्लामार्फत प्रतिस्पर्धा गराइने छ। यहाँका विजेतालाई जिल्लामा प्रतिस्पर्धाका लागि छनोट गरिने समितिका संयोजक काउचाले बताए।

प्रतियोगितामा ४८ वटा इभेन्टमा दुई सय ५८ वटा पदकका लागि प्रतिस्पर्धा गराइनेछ । नगरभित्रका सामुदायिक र निजी गरी २४ वटा विद्यालयका करिब छ सय खेलाडीहरुले भाग लिँदै छन्। प्रतियोगिता सञ्चालन गर्न संघीय र स्थानीय सरकारबाट अनुदानवापत १/१ लाख रुपैयाँ बजेट रहेको समितिकी सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिइन्। उनले अरू स्रोतको पनि खोजी भइरहेको बताइन्। 

बुटवलका पार्कमा खुला व्यायामशाला बन्ने

यसैबीच बुटवल उप-महानगरपालिकाले यहाँका सार्वजनिक पार्कमा खुला व्यायामशाला बनाउन लागेको छ। यसका लागि उपमहानगरका १९ वटै वडामा प्राविधिक अध्ययनका काम पूरा भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए।

उपमहानगरका प्रमुखले पहिलेदेखि नै सार्वजनिक पार्कलाई व्यवस्थित गर्ने र त्यहाँ निःशुल्क रूपमा व्यायाम गर्ने व्यवस्था मिलाउने बताएका थिए। ‘खेलकुद समिति गठन भएलगत्तै प्रमुख उपप्रमुखमा प्रस्ताव लगेको खुशीले स्वीकार गर्नुभयो’ अध्यक्ष काउचाले भने, ‘हामीलाई हौसला मिलेको छ अबको केही समयमै यो कामले पूर्णता पाउने छ।’

पार्कमा खुला व्यायामशालाको अवधारणा मुलुकमै नमुना रहेको उनको दाबी छ। पार्कलाई व्यवस्थित गर्दै व्यायाम गर्ने उपकरण जडान गरिने र स्याहार सुस्याहारका लागि पालैपालो स्वयमसेवक राखिने अध्यक्ष काउचाले बताए।

यसका लागि २० लाख बजेट नगरपालिकाबाट विनियोजना भइसकेको छ। योसँगै नगरमा रहेका मैदानको स्तरोन्नति र संरक्षणको कामसमेत समितिले अगाडि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.