|
फाइद्य फोटो

काठमाडौं : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) ले देशको गौरव बढाएको बताए।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा बुधबारदेखि शुरु भएको ‘माछापुच्छ्रे त्रिशक्ति युनाइटेड कप’ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले साग खेलकुदको सफलतासँगै नेपाल र नेपालीको प्रतिष्ठा, इज्जत र गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भएको बताए। 

पछिल्लो समयमा खेलकूदबाट सिङ्गो देशको प्रतिष्ठामाथि उठेको महसुस भएको बताउँदै मन्त्री विश्वकर्माले भने, 'सम्पूर्ण देशको ध्यान फेरि एक पटक खेलकुद क्षेत्रप्रति आकर्षित भएको छ। खेलकुदको विकासका लागि सबैतिरबाट चासो, अभिरुचि बढेर गएको छ।'

खेल क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ ढंबाट सोचेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले ७५३ वटै पालिकामा एक/एक वटा दीर्घकालीन महत्वको स्थानीय तहको रंगशाला बनाउने योजना बजेट कार्यक्रममा उल्लेख गरिएकाले यसै महिनाबाट काम शुरु हुने जानकारी दिए।

मन्त्रालयले प्रत्येक खेलग्राम निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिए। संघ र प्रदेश सरकारबाट चालू वर्षमा इतिहासमै पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको कास्की ३ मा शिक्षा, स्वास्थ्य तथा खेलकुदलगायतका विषयमा सर्वाधिक बजेट विनियोजन भएकाले समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिए। 

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले सागको सफलताबाट विश्वले आँखा खोलेर हेर्ने स्थानमा नेपाल रहेको बताउँदै यहाँको पर्यटन प्रवर्द्धनमा समेत सघाएको भनाइ राखे। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले लाहाचोकको खेलमैदान गाउँपालिका र खेलकुदको केन्द्र बन्ने सम्भावना रहेको औँल्याए।

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले माछापुच्छ्रेको भेँडाबारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक केन्द्र बनाउन लागेको जानकारी दिए। भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले युवालाई रोजगारी तथा लगानीमा जोड्ने उद्देश्यले सेती नदीमा २५ मेघावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्न लागिएको जानकारी दिँदै सहयोगका लागि आग्रह गरे। 

यही माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाबाट गरी १२ टोलीको सहभागिता रहेको छ। माछापुच्छ्रे त्रिशक्ति क्लब र बागलुङ जिल्ला फुटबल संघबीच बुधबार भएको उद्घाटन खेलमा आयोजक त्रिशक्ति क्लब विजयी भएको छ। 

निर्धारित समयमा दुवै टोलीबाट एक/एक गोल भएपछि पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले बागलुङलाई आयोजक टोलीले पराजित गरेको हो। प्रतियोगिताको विजेताले एकलाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष नीरज शाहीले जानकारी दिए। 

 उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.