कारागारका कार्यालय सहयोगी प्रहरी हिरासतमा

|
फाइल तस्बिर

रौतहट : रौतहटको गौर कारागारबाट कैदी भगाएको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरिक्षकसहित पाँच जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। कैदी फरार प्रकरणमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिबेदनमा उनीहरूलाई विभागीय कार्वाहीको लागि सिफारिस गरिएको हो।

कारागारबाट नै कैदी फरार भएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक रामसरोबर सिंहलगायत पाँच प्रहरीलाई विभागीय कारबाही गर्न छानविन समितिले बिहीबार प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन बुझाएको हो। पुस २७ गते आइतबार राति १० बजेको समयमा कारागारको विद्युत् प्रणाली अवरुद्ध बनाएर अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको सजाय पाएका कैदी अशोक यादव फरार भएका थिए।

कारागारमा रहेका गढीमाई नगरपालिका-१ का यादव फरार भएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो। छानबिन समितिको संयोजकमा तिवार र सदस्यहरूमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक मायाशंकर सिंह रहेका थिए।

कार्यालय सहयोगी एकरामुल हकसहित सुरक्षामा तैनाथ रहेका प्रहरी नायव निरीक्षक रामसरोबर सिंह, प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव, प्रहरी हवलदार नीरजकुमार सिंह र प्रहरी जवान महानन्दप्रसाद यादवलाई विभागीय कारबाही गर्न प्रतिवेदन बुझाएको छानबिन समितिका संयोजक तिवारीले जानकारी दिएका छन्।

कार्यालय सहयोगी एकरामुल हकलाई प्रहरी हिरासतमा राखी जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ। तिवारीका अनुसार कैदी भगाउने कार्यमा कार्यालय सहयोगी हक र कारागारको सुरक्षामा खटिएका प्रहरीको गम्भीर त्रुटी रहेकोले उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.