अध्यक्षले 'कुकुरलाई जस्तै गोली ठोक्नु पर्छ' भनेपछि तात्यो दार्जिलिङ

|

दार्जिलिङ (भारत) : नेपाली भाषीको बाहुल्यता रहेको भारतको दार्जिलिङस्थित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

भाजपा पश्चिम बंगालका अध्यक्ष दिलीप घोषले गोर्खाल्याण्ड आन्दोलनकारीलाई असामाजिक तत्त्व भन्दै गोली ठोक्नुपर्ने भनाई सार्वजनिक कार्यक्रममै बोलेको भन्दै गोजमुमोले दार्जिलिङका विभिन्न  सडकमा भाजपाविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

गोजमुमो (विनय पन्थी) युवा मोर्चाका समर्थकहरूले बिहीबार दार्जिलिङको विभिन्न सहरलगायत विभिन्न ठाउँहरूमा प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। प्रर्दशनकारीहरूले भाजपा नेता दिलीप घोषको भनाइको कठोर शब्दमा निन्दा गरी उनको पुत्लासमेत दहन गरेका थिए।

विरोध कार्यक्रममा बोल्दै गोजमुमो युवा मोर्चा केन्द्रीय नेता आलोक कान्तमणि थुलुङले भाजपा नेता घोषको उक्त बयानको भर्त्सना गरेका छन्। नेता घोषले तत्काल आफ्नो बयान फिर्ता लिई सबैसमक्ष माफी माग्नुपर्ने उनले मागसमेत राखेका छन्।

त्यसैगरी, दार्जिलिङको मङपु लाब्दा समष्टि युवा मोर्चाले पनि वीर गोर्खाहरूको बारेमा दिएको बयानको विरोध गरेका छन्। भाजपा अध्यक्ष घोषको टिप्पणीमाथि घोर विरोध जनाउँदै लाब्दा मङपु समष्टि युवा मोर्चा प्रवक्ता विभोर तामाङले भारतको कुन संविधान कानुनमा गोर्खालाई कुकुर जस्तो व्यवहार गरेर गोली ठोक्ने आदेश लेखिएको छ, भन्दै विरोध जनाएका छन्।

उनका अनुसार भारतमा बसेका बासिन्दाहरूलाई शान्तिको निन्द्रा दिनका लागि देशको सीमा रक्षामा वीर गोर्खाहरू खटिरहेका छन्। देशको लागि गोर्खा कहिले पछि हटेको इतिहास छैन भन्दै उनले भने, ‘राष्ट्रको प्रगति अनि विकास र सुरक्षाको लागि भारत देशमा गोर्खाको अरू जातिको झैँ योगदान छ।’ यस्तो स्थितिमा वीर गोर्खाहरूबारे भाजपा नेता घोषलाई यस्तो टिप्पणी गर्ने कुनै अधिकार नरहेको उनले प्रस्टाएका छन्। 

के भनेका थिए भाजपा नेता घोषले ?

पश्चिम बंगालको नादिया जिल्लामा एक सभालाई सम्बोधन गर्दै भाजपा नेता दिलीप घोषले नागरिकता संशोधनको विषयमा भइरहेको प्रदर्शनको बारेमा राज्यकी मुख्यमन्त्री ममता बनर्जीमाथि खनिएका थिए।

'नागरिकता कानुनलाई लिएर हिंसात्मक प्रदर्शन भइरहेको बेला उत्तर प्रदेशमा प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको थियो। त्यसैगरी बंगालमा पनि अराजक तत्त्वलाई कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ', उनले भनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.