बारा : भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया-वीरगञ्ज सडकखण्ड दुई घण्टा भन्दाबढी अवरुद्ध भएको छ। भारतबाट ग्यास लिएर चितवनतर्फ जाँदै गरेको एम एल ०१ के ५८९५ नम्बरको ग्यास बुलेटबाट ग्यास लिक भएको थियो।
रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेको बुलेट जितपुर सिमरा उपमहानगरपालिका-२ सूर्य नेपाल र सिप्रदीको बीचमा मुख्य सडकमा आइपुग्दा ग्यास लिक भएको थाहा भएको थियो।
बुलेटबाट ग्यास लिक भएपछि पथलैया र जितपुरमा सबै सवारी साधन रोकेर लिक भएको ग्यास नियन्त्रण गरिएको छ। अमर ग्यासका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा लिक भएको बुलेटलाई लगातारको प्रयासपछि लिक नियन्त्रणमा आएको छ।
ग्यास लिक भएको खबर बाहिरिएपछि स्थानीयबासी त्रसित बनेका थिए। प्रहरीले सावधानी अपनाउन आसपासमा खाना पकाउने ग्याससमेत प्रयोग नगर्न, सलाई, लाइटरको प्रयोग नगर्न अनुरोध गरेको थियो।
पथलैया-वीरगञ्ज सडकखण्डको सूर्य नेपालअगाडि केही दिनदेखी सडकमै फसेर बसेको बुलेटलाई बिहीबार साँझ जेसिवीको सहयोगले धकेल्ने क्रममा बुलेटको मिटरमा क्षति पुगेर लिक भएको थियो।
लिक नियन्त्रणमा आएसँगै ठप्प भएको सवारी आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
राजमार्गमा वीरगञ्जबाट विभिन्न शहरका लागि छुटेका रात्रिबस, मालबहाक सवारी साधन सयौँको संख्यामा सडकमा रोकिएका थिए। सडक खुलेपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्।
केही महिनाअघि पनि जीतपुरसिमराकै अम्लेखगञ्जमा बुलेटबाट ग्यास लिकेज भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।