|

दाङ : पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङको विजौरीमा लगाएका ड्रागन फलले उत्पादन दिन सुरु गरेको छ। राजनीति छाडेर कृषि व्यवसायमा लागको विष्टको कृषि फर्ममा रोपेको ६ महिना मै ड्रागन फलले उत्पादन दिन सुरु गरेको हो।

दुई पटक मन्त्री भइसकेका भएका विष्ट मगर पछिल्लो समय व्यावसायिक कृषि पेसामा छन्। केही वर्षअघि कालो धानको खेती गरेका उनी करिब एक वर्षदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ६६ कठ्ठामा जमिन ड्रागन फलको खेती गरेका हुन्।

करिब १५ वर्षको लामो अनुसन्धानबाट ड्रागन फलको खेती सुरु गरेको विष्टले बताए। विरुवा रोपेको नौ महिना भए पनि ६ महिनादेखि फल दिन सुरु गरेको छ। तर, पहिलो पटक कम फलेको विष्टले बताए। विरुवा रोपेको करिब दुई वर्षभित्र फल्ने भए पनि छिप्पिएको विरुवा रोपिएकाले ६  महिनामै फलेको उनले बताए। 

ड्रागन फलको खेती नेपालमा भित्रिएको १८ वर्ष भएको छ।  यो फल मानव शरीरमा रोगसँग लड्न सक्ने तत्व पाइने भएकाले अहिले संसारका यसको महत्त्व बढ्दै गएको विष्ट बताउँछन्। ड्रागनको खेती भित्री मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ। एकपटक रोपिएको विरुवाले करिब २५ वर्षसम्म फल दिन्छ। 

विष्टको फर्ममा आगामी सिजनमा करिब ५० क्विन्टल फल्ने अनुमान छ। एउटा बोटले तीनदेखि पाँच किलोसम्म फल दिन्छ। नेपाली बजारमा प्रतिकिलो सात सयदेखि करिब दुई हजार रुपैयाँसम्म रहेको छ। 

पूर्वमन्त्री विष्टले कृषिलाई पर्यटनसँग पनि जोड्ने योजनामा छन्। उनी आगामी दिनमा अन्य ठूला फर्महरु सञ्चालन गर्नुपर्ने बताउँछन्। ‘कृषि आफैंमा पर्यटकीय गन्तव्य भएकाले नेपालमा बाँझो जमिनमा नयाँ नयाँ खेती गर्न सके पर्यटकीय गन्तव्य हुन्छ,’ विष्टले भने, ‘यहाँ मैले नयाँ खेती गरेको छु, यहाँ धेरै यो के हो भनेर स्थानीय तथा जिल्लाबाहिरबाट आउनु हुन्छ । यसले कृषि पर्यटकीय गन्तव्य हुन सक्छ।’

उनी कृषिलाई उद्योगसँग जोड्नु पर्ने बताउँछन्। उत्पादित कृषि उपजमध्ये नबिकेको वस्तुलाई प्रशोधन गर्नुपर्ने उनको भनाइ छ। 

पूर्वमन्त्री विष्टको फर्ममा ड्रागन फलको विरुवा आकर्षक ढंगले हुर्किएका छन्। उनको फर्ममा ड्रागन फ्रुटको बेर्ना पनि तयार छ। त्यसबाट पनि राम्रो आम्दानी भइरहेको विष्टले बताए। एउटा बेर्नाको दुईदेखि तीन सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ।

यस्तै, फर्ममा एभोगाडो, मुन्तला, सावर, सर्पगन्धा, कुरिल्लो, टाटे सिमी, केपिलो मेलनजस्ता बोटविरुवाको बेर्ना पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.