|

हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका ५ र ७ मा एकैदिन बुधबार २ वटा बालविवाह रोकिएका छन्। बाल हेल्पलाइन १०९८ को पहलमा वडा कार्यालय र हात्तीसुँडे प्रहरी चौकीको सहयोगमा वालविवाह रोकिएको हो। वकैयाको वडानम्बर ७ मा १७ वर्षीय किशोर र वडा नम्बर ५ की १६ वर्षिया किशोरीको विवाह रोकिएको हो।

बेहुलीले नै फोन गरेपछि... 

पुसको अन्तिम हप्ता कक्षा ८ मा पढ्दै गरेकी फूलमाया (नाम परिवर्तन) को घरमा विहे गर्ने कुरो चल्यो। घरमा कुरो टुंगोमा पुग्यो। साथीभाइसँग रमाइलोपनमा भुलिरहेकी फूलमाया बिहीबारदेखि नै विहे हुने कुराले चिन्तित भइन्। आफ्नो सुन्दर भविष्य देखेकी उनले एक्कासी अँध्यारोमा पुगेको अनुभव गरिन्। परिवारमा रमझम सुरु भयो, विहेको तयारीले सबै जना चलायमान भएका थिए। तर फूलमाया बोल्न सकेकी थिइनन्। अन्तत : फूलमायाले एउटा भरपर्दो आँट गरिन्। उनले बाल हेल्पलाइनको १०९८ नम्बरमा कल गरेर आफू सानै भएको र पढाई विग्रने भएकोले विहे रोकिदिन अनुरोध गरिन्। 

पुस अन्तिमतिर यस्तो खबर पाएपछि बाल हेल्पलाइनले जिल्ला प्रहरी र वडा कार्यालयको समन्वयमा बिहीबार विहे हुने घरमा विहानै पुग्ने निर्णय गर्‍यो। वडा कार्यालयबाट वडा अध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तीसुँडे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण गौतम र बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीको टोली बालिकाको घरमा गई आमा बुबालाई भेटेर बिहीबार हुन लागेको बालविवाह रोकेका थिए।

फूलमायाका बाबुले कम्तिमा पनि २० वर्ष नपुगी छोरीको विवाह नगरी दिने र छोरीलाई पढाइमा निरन्तरता दिने प्रतिबद्धता समेत गरेका छन्। उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सहयोगको लागि अनुरोध गरेपछि बकैया गाउँपालिका र स्थानीय  विद्यालयमा समन्वय गरिने वडाध्यक्ष शेरमान घलानले बताएका छन्। 

स्थानीय सहयोगमा रोकियो बालविवाह 

बिहीबार परिवारले नै विवाह गर्ने तयारीपछि स्थानीयले बाल हेल्पलाइनको नम्बरमा फोन गरेर जानकारी गराएका थिए। लगत्तै बाल हेल्पलाइनले जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी चौकी हात्ती सुँढे र वडा कार्यालयलाई समन्वय गरी बालविवाह रोकिएको बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञावलीले जानकारी दिएका छन्। 

केटा-केटी दुवै २० वर्ष उमेर नपुगेकाले अहिले नै बिहे नगर्ने र पढाइलाई पुन: निरन्तरता दिन बकैया गाउँपालिकाका वडाध्यक्ष रामकाजी लामिछाने र बाल हेल्पलाइनका संयोजक ज्ञावलीले परिवारलाई सम्झाएका छन्। पढाइको निरन्तरताको आवश्यक सहयोगको लागि वडा कार्यालय तयार रहेको बकैया ७ का वडा अध्यक्ष रामकाजी लामिछानेले बताए। 

बालविवाह रोकिएका दुबै बालिकालाई आवश्यक परामर्शको लागि बाल हेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ। उनीहरूलाई बाल मनोवैज्ञानिक परामर्शदाताले आवश्यक परामर्श प्रदान गरिरहेका छन्। 

गत वर्ष २३ बालविवाह

मकवानपुर जिल्लामा सन् २०१९ मा २३ वटा बालविवाह भएको जिल्ला बाल हेल्पलाइनले जनाएको छ। २३ बालविवाहमा ५ वटामा बालक २० वर्ष भन्दामुनि रहेको पाइएको छ भने १८ बालिका २० वर्ष भन्दामुनिका पाइएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञावलीले जानकारी दिएका छन्।  

 जिल्लामा २३ बालविवाह मध्ये ११ वटा  रोक्न सफल भएको उनले बताए। बागमती प्रदेश सरकारले २०८० सम्म बालविवाहमुक्त प्रदेश घोषणा गर्ने तयारी गरे पनि प्रदेशको राजधानी भएको जिल्लामा देखिएको बालविवाहले सरकारले झनै चुनौती थपिएको छ।

मकवानपुरमा सूचना आएका भन्दा धेरै बालविवाह हुने गरे पनि सूचना कम आउने कारणले बालविवाह रोक्न चुनौती थपिएको छ।

पछिल्लो समय परिवारको करले भन्दा पनि सामाजिक सञ्जालको काराणले बालबालिका नै भागेर विवाह गर्ने गरेको बाल क्लब सञ्जाल मकवानपुरका पूर्व अध्यक्ष सुशन विश्वकर्मा बताउँछन्। केही दिन अघि मात्रै मकवानपुरको मनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.