संचार, यातायातका साथै हवाई सेवा ठप्प
संचार, यातायातका साथै हवाई सेवा ठप्प
जुम्ला : जुम्लामा निरन्तरको हिमपमत र वर्षाका कारण जनजीवन कष्टकर बनेको छ। जुम्ला यसपटको हिमपातसहित सातौँ पटक हिमपात भएको हो।
हिमपात र वर्षाले कर्णालीका हिमाली भेगका नागरिकको जनजीवन बढी प्रभावित बनेको छ। निरन्तर वर्षासँगैको हिमपातले जुम्लाका नागरिकको दैनिकी कष्टकर बनेको यहाँका स्थानीयले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले हिमपातले नागरिकको दैनिकी सकसपूर्ण बन्दै गएको बताइन्। उनले हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाब दिएकी छन्।
हिमपातका कारण जुम्लामामा फोन सेवासमेत प्रभावित भएको छ। इन्टरनेट र संचार नेटवर्क आउने र जाने गर्दा संचार माध्यमहरूलाई बढी समस्या भएको छ।
त्यस्तै, लामो तथा छोटो दूरीका यातायात सेवासमेत अवरुद्ध बनेको छ। हवाई सेवासमेत दुई दिनदेखि ठप्प छ। जुम्ला चन्दननाथ-९ का स्थानीय धर्मसिंह कठायतले चिसोका कारण धारोबाट पानी ल्याएर खानसमेत समस्या भएको बताए।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तातो खाने कुरा खान सन्देश प्रवाह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।