|

भोजपुर : भोजपुरमा भूकम्पबाट क्षति भएका ६५.४४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ।

पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ। पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याको विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षसँग पुनर्निर्माण सम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ। 

भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ जनाले दोस्रो  किस्ता लिएका छन्। पाँच हजार ४४९ घर पूर्णरूपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए।

त्यस्तै, जिल्लाभर ४५३ जना प्रवलीकरणका लाभग्राही रहेकोमा अहिलेसम्म २६५ जना लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन्। कार्यालय प्रमुख राजनराज रेड्डीले जति सक्दो चाँडो पुनर्निर्माणको काम सक्ने काम भइरहेको बताए।

उनले भने, ‘हामी स्थानीयस्तरसम्म पुगेर त्यहाका समस्याको विषयमा जानकारी लिँदै, सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनर्निर्माणले निकै राम्रो गति लिएको छ।’

कार्यालय प्रमुख रेडडीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेका लाभग्राहीका लागि पौष मसान्तसम्मको म्याद थियो भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनुपर्नेछ। ६२८ जनाले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.