|

संखुवासभा : संखुवासभाको खाँदबारीबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका ६ का हरि चापागाई रहेको छन्। प्रहरीले विप्लव कार्यकर्ता चापागाईलाई खाँदबारीबाट पक्राउ गरेको स्रोतको भनाइ छ। 

प्रहरीले विप्लव कार्यकर्ता चापागाईलाई कहाँबाट पक्राउ गरेको भन्ने खुलाउन चाहेको छैन। विप्लव कार्यकर्ता चापागाईलाई हातहतियार खरखजना मुद्दा दर्ता भएको बताइएको छ। खाँदबारीबाट पक्राउ परेका चापागाई जिल्ला अदालत चैनपुरबाट गत पुस २९ गते सात दिनको म्याद थप भएको जिल्ला अदालत चैनपुरले जनाएको छ। खाँदबारी ६ का चापागाई पछिल्लो समय उनी निष्क्रिय भएर खाँदबारीमै रुद्राक्ष व्यवसाय लागेको स्थानीयको भनाइ छ। 

विप्लवको गतिविधि बढेपछि प्रहरीको उच्च निगरानी 

संखुवासभा जिल्लामा पछिल्लो आगजनी र तोडफोडका घटना बढेपछि प्रहरी विप्लव कार्यकर्तामाथि निगरानी बढाएको छ। अज्ञात समूहले संखुवासभाका दुई स्थानीय तहमा आगजनी र तोडफोड गरेका भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन।

अज्ञात समूहले गत मंसिर १८ गते  पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको तोडफोड गरेका थिए। त्यस्तै मंसिर २५ मादी नगरपालिका ५ को वडा भवनमा आगजनी हुँदा वडा कार्यालयका सम्पूर्ण कागजपत्र, फर्निचरलगायतका सामग्री धस्त भयो। यही समूहले सोही दिन सडक निर्माणमा रहेको स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएर पूर्ण रुपमा क्षति पुर्‍याएका थिए। गत वर्ष भोटखोला गाउँपालिका कार्यालयमा समेत आगजनी भएको थियो।

घटनाबाट २ करोड भन्दा बढीको क्षति भएको थियो। तोडफोड र आगजनीका घटनामा प्रतिबन्धित नेत्र बिप्लव चन्द समूहका कार्यकर्ता भएको आशंका गरिएको छ।

हालसम्म दर्जन बढी कार्यकर्ता पक्राउ

प्रहरीले प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवका दर्जन बढी कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले विप्लकका संखुवासभा इन्चार्ज देव गुरुङ र जिल्ला सदस्य सुनिता राईलाई काठमाडौँको गौशलाबाट पक्राउ गरेको हो।

विप्लवका कार्यकर्ता निमदोर्जी तामाङ, बुद्धिमान तामाङ, सन्जय तामाङ, लेखबहादुर रातउ, सुजन विक र कोशी व्यूरो सदस्य डिबी सिलवाल पक्राउ परेको स्रोतको भनाइ छ। त्यस्तै गरी प्रहरीले पाँचखपन नगरपालिका ४ जलजलाका यामप्रसाद गौतमलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.