नेताहरु भन्छन् : अवस्था सकारात्मक छ

|

काठमाडौं : नेपाली कांग्रेसको विवाद समाधानका लागि गठित वार्ता समूहको छलफल केही दिनका लागि रोकिएको छ। संस्थापन पक्षका तर्फबाट वार्ता समूहको जिम्मा पाएका उपसभापति विमलेन्द्र निधी काठमाडौं बाहिर गएपछि छलफल रोकिएको हो। 

सभापति शेरबहादुर देउवाले उपसभापति निधि र असन्तुष्ट पक्षले नेता प्रकाशमान सिंहको नेतृत्वमा वार्ता टोली बनाएका थिए। पार्टीमा देखिएको गतिरोध अन्त्य गर्न हृदयराम थानी र दिलेन्द्र बडूलाई पनि वार्ताको जिम्मेवारी तोकिएको थियो। 

यो टोलीले लगातार छलफल तथा वार्ताको प्रयास गरिरहेको छ। तर, पनि निष्कर्ष निस्कने वातावरण अझै बनेको छैन। वार्ता चाहिँ सकारात्मक रूपमा अगाडि बढेको नेताहरू बताउँछन्।

असन्तुष्ट समूहबाट वार्ता समिति सदस्य दिलेन्द्र बडू राष्ट्रियसभा निर्वाचनका लागि उपसभापति निधि प्रदेश २ तर्फ गएपछि छलफलले निरन्तरता पाउन नसकेको बताउँछन्।

‘अहिले रामचन्द्र दाइ भारतको दिल्ली हुनुहुन्छ, उहाँ ५-६ गते फकिर्ने सूचना छ’, उनले भने, ‘यता राष्ट्रियसभाको निर्वाचनमा समय दिनुपर्ने भएकाले छलफलले निरन्तारता पाउन सकिरहेको छैन।’

उनका अनुसार वार्ताकै क्रममा सहमतिका कार्यतालिकाकै आधारमा १४औँ महाधिवेशन गर्ने विषयले प्राथमिकता पाइसकेको छ। अन्य विषय पनि सकारात्मक रूपमा अघि बढेकाले अब सहमतिको वातावरण बन्ने बडूले बताए। 

नेता निधिले पनि आफू काठमाडौं बाहिर रहेको जानकारी दिए। उनले आफू माघ ६ गते मात्रै काठमाडौं फर्किने बताए। पुस ११ गतेको केन्द्रीय कमिटी बैठकबाट सभापति शेरबहादुर देउवाले एकपक्षीय निर्णय गरेपछि वार्ता समितिमा छलफल अघि बढेको थिएन।

तर, केही दिनअघि मात्रै निधि र सिंहबीच छलफल भएको थियो। उक्त छलफलमा नेता कृष्ण सिटौला पनि उपस्थित थिए। 

पार्टी महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभागको गठन, नेविसंघको तदर्थ समिति निर्माण र तरुण दलको म्याद बढाउन सभापति देउवाले पेलेरै जान खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले लगातार केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको थियो।

त्यसयता कांग्रेस भित्रको विवाद सतहमै देखिएको छ। संस्थापनपक्षले पौडेल समूहको मागलाई बेवास्ता गर्दै पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट १४ औँ महाधिवेशनको कार्यतालिका, पार्टी विभाग बढाउने लगायत निर्णय गरेको थियो।

त्यसपछि कांग्रेसभित्र विवाद झनै चुलिएको छ। पार्टी विवाद समाधानका लागि सहमतिको प्रयासस्वरुप शीर्ष तहमै लगातार छलफल हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.