|

जनकपुरधाम : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्रलाई मजबुत बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार जनकपुरमा प्रदेश कमिटीद्वारा आयोजित संगठन सुधार तथा सुदृढिकरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादबले प्रदेश अधिकार सम्पन्न र निर्णय कार्यान्वयण गर्न सक्ने स्रोत साधनयुक्त हुनुपर्ने बताएका हुन्। उनले अस्ट्रेलिया र भारतको उदाहरण दिँदै प्रदेशसँग आफ्नो प्रहरी र आफ्नो कर्मचारी राख्न पाउने बताए।

अध्यक्ष यादवले प्रदेशसँग न प्रहरी छ, न अन्य कर्मचारी र न एक रुपैयाँ आम्दानी रहेको भन्दै आक्रोस व्यक्त गरे। इथोपियाको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ प्रदेशको आफ्नो सेना, सशस्त्र र जनपद प्रहरी छ। तर यहाँ केहि छैन। अनी कसरी सरकार भन्ने?’ उनले प्रदेशलाई मजबुत बनाउनुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको पनि बताए।

‘संघीयता भएको मुलुकहरुमा पहिचान, भषा र भूगोलको आधारमा प्रदेशको नामकरण भएको छ’, उनले भने, ‘तर नेपालमा प्रदेशहरू जुन बनेको छ, त्यसको कुनै आधार नै छैन।’ नेताहरू कसरी निर्वाचन जित्ने आधारमा नेपालमा प्रदेश बनाएको आरोप पनि लगाए। विगतमा जसले शासन गरे, सधैँ उसैको शारण रहनेगरी संघीयता बनाएको उनको भनाइ थियो।

उनले नेपालमा सुदृढ संघीयता चाहिएको बताए। ‘नाम मात्रको संघीयताको कुनै अर्थ हुँदैन’, उनले भने, ‘संघीयताको मूल अर्थ हो कुशासन र परतन्त्रको अन्त्य। त्यसैले देशमा संघीयता मात्रको अर्थ छैन। सुदृढ संघीयता चाहिएको छ।’

‘कार्यकारिणी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ’

अध्यक्ष यादवले कार्यकारिणी राष्ट्रपतिको व्यवस्था अहिलेको मुख्य मुद्दा भएको बताएका छन्। उनले जनताद्वारा सीधा कार्यकारिणी राष्ट्रपति चयन गर्ने व्यवस्था भयो भने संसदमा हुने खसी बजारको विक्री अन्त्य हुने दावी गरे।

‘हर्टको अप्रेशन कमपाण्डरलाई गर्न भनेपछि त विरामीको नै मृत्यू हुन्छ, उनले भने, ‘हर्टको अप्रेशनका लागि त सम्बन्धित डाक्टर हुनुपर्छ। त्यस्तै, मुलुक चलाउन असल र सक्षम व्यक्तिको आवश्यक पर्छ।’ राजनीतिक भागबण्डाको आधारमा राष्ट्रपतिको चयन गर्ने  व्यवस्थाको अन्त्य हुनुपर्ने बताए।

उनले संघीय प्रणालीलाई सही रूपमा रुपान्तरण न कांग्रेस न कम्युनिष्ट गर्न सक्ने बताए। उनले अहिलेको संसदीय प्रणाली हाइब्रिड (खचड) जस्तो भएको टिप्पणी पनि गरे। ‘अहिलेको व्यवस्थामा प्रधानमन्त्री भ्रष्ट भयो भने २ वर्षसम्म केही गर्न नै सकिदैन’, उनले भने, ‘यो व्यवस्था ठीक हो? होइन्। त्यसैले संविधानमा धेरै सुधारको आवश्यक छ।’

‘न्याय प्रणालीमा सुधार आवश्यक’

पूर्वउपप्रधान तथा कानुनमन्त्रीसमेत रहेका उनले अहिलेको न्याय प्रणालीमा सुधार गर्न आवश्यक भएको बताए। न्यायाधीशको नियुक्ति दलीय आधारमा भएसम्म न्याय प्रणाली स्वतन्त्र हुन नसक्ने उनको तर्क छ।

‘जुन मुलुकमा न्याय प्राणाली स्वतन्त्र र सक्षम छैन, त्यो देश समृद्ध हुन सक्दैन र संघीयता मजबुत हुन सक्दैन। त्यसैले न्याय प्रणालीमा सुधार आवश्यक छ’ उनले भने। सर्वोच्च अदालतमा २५ हजार मुद्दा रहेको भन्दै मात्र २१ न्यायधिस राख्ने प्रावधानले कसरी जनता न्याय पाउन सक्छ भनेर उनले प्रश्न तेर्साए। 'न्यायाधीश थप्न नसके ५० वर्षमा त पुराना मुद्दा पनि फैसला हुन नसक्ने र नयाँ मुद्दाहरुको त कुरै नगर्नुस्' उनले भने।

एक लाख नयाँ सदस्यता

समाजवादी पार्टीले सातै प्रदेशमा शुक्रबारदेखि तीन महिने संगठन विस्तार र पार्टी सुदृढिकरण अभियान चलाएको छ। चैत मसान्तसम्म चल्ने अभियानको क्रममा १ लाख नयाँ पार्टीको सदस्य बनाउने योजना रहेको पार्टीका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश-२ का अध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए।

उनका अनुसार अभियान अन्तर्गत हरेक जिल्लामा कार्यालयसमेत संचालनमा ल्याइनेछ। ‘अहिले धेरै जिल्लामा कार्यालय छैन। कार्यालय भएपनि व्यवस्थित छैन’, उनले भने, ‘अब यो अवधिमा हरेक जिल्लामा पार्टी कार्यालय स्थापना हुन्छ।’ प्राप्त उपलब्धिलाई संस्थागत र बाँकी अधिकार प्राप्तीका लागि संगठन विस्तार अभियान चलाएनको उनको भनाई छ।

अभियानका क्रममा तीन महिनासम्म हरेक काम छाडेर पार्टीको संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई पार्टीले निर्देशन समेत दिएको छ। उनले भने, ‘अबको दिनमा संगठनका लागि गरिने कामको मात्र मूल्यांकन हुन्छ। र सोही आधारमा जिम्मेवारी पनि बाँडफाँट हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.