|

गुल्मी :  जिल्लाको कालीगण्डकी गाउँपालिका-७ भुर्तुङकी सुत्केरी गीता सार्कीलाई वडा अध्यक्षले एक माना घिउ लिएर भेट्न जाँदा ठूलो राहत मिलेको बताएकी छिन्।  घरमा आर्थिक अवस्था कमजोर भएको भन्दै एक माना घिउ किन्नका लागि पनि एक हजार रुपैयाँ जोहो गर्नसमेत समस्या भएको सन्दर्भमा वडा अध्यक्षले एक माना घिउ लिएर घरमै भेट्न आउँदा भगवान् नै घरमा आएको जस्तो महशुस भएको उनले बताइन्।

गाउँमा एक दिनभरी मेलापात गर्न जाँदा पनि २५० मात्रै पाउने भएकाले एक हजार कमाउन चार दिन मेलामा जाने बाध्यता र त्यही रकमले घिउ किन्न पर्दथ्यो।  एक हजार रुपैयाँको चामल ल्याए घरमा एक महिनालाई पुग्छ एक माना घिउ ल्याएर खाएर के गर्ने  भन्दै यसरी घरमै आएर घिउ पाउँदा  हामी गरिबको साथमा पनि कोही रहेछन् भन्ने महशुस भएको गीताले बताइन्।

यता, गीताका श्रीमान भवीन्द्र सार्कीले यसरी घरमै आएर वडा अध्यक्षले एक माना घिउ दिँदा स्थानीय सरकारको अनुभूति बल्ल पाएको बताए। उनले सिंहदरबारको अधिकार गाउँगाउँमा भनेको त सुने पनि अहिले बल्ल आफूले महशुस गरेको बताए।

आफू अहिले ३० वर्षको भएको भन्दै उनले गाउँमै कहिलेकाहीँ  मेलापात गरी ल्याएको रकमले घरखर्च चलाउने समस्या झेल्दै आएको समयमा एक माना घिउ घरमा आउँदा केही मात्रामा भए पनि आर्थिक बोझ कम भएको बताए।

कमजोर आर्थिक अवस्था

यस्तै, सोही वडाकी हीरादेवी सार्कीको घरमा भैँसी पनि छैन। सुत्केरी भएको समयमा गाउँमा दूध, घिउ र माछा मासु खान पर्छ भन्छन् तर आफूसँग आर्थिक अवस्था कमजोर भएको र यी सबै पर्छ भन्नेमा मात्र सीमित भएको उनले दुखेसो पोखिन्।

उनको घरमा केही समय पहिले एउटा थारो भैँसी भएको र त्यसलाई पनि बेचेको भन्दै घरमा दूधको सेतोसमेत देख्न नपाएको बताइन्। उनले घरमा सासू आमा पनि नभएको र ससुरा बाले अर्की सौतेनी आमा लिएर अलग्गै बस्ने गरेकाले घरमा दुःख पर्दा पनि नहेरेको बताइन्।

बाउ आएजस्तै भएको छ

श्रीमान् केही कमाउनका लागि  भारत गएको भन्दै श्रीमानले कमाएको पैसाले घरखर्च पनि चलाउन समस्या भएको समयमा एकमाना घिउ लिएर कस्तो छ स्वास्थ्य र बच्चाको अवस्था भन्दै घरमा जनप्रतिनिधि आउँदा घरमा बाबु नै आएजस्तो  अनुभूति भएको उनले बताइन्।

यस्तै,  दीपा क्षेत्रीको हातमा एक महिनाकी छोरी छन् वडा अध्यक्ष एक माना घिउ लिएर घरमै भेटन आउँदा स्थानीय सरकारको अनुभूति भएको र आफूलाई सारै खुसी लागेको क्षेत्रीले बताइन्। यसरी घरमै आएर स्वास्थ्यको अवास्थाबारे जानकारी लिँदै बच्चा र आमाको राम्रो ख्याल गर्नु, झोलिलो पदार्थ अत्याधिक खान र पोषणमा ख्याल गर्नुहोला भन्दै वडा अध्यक्ष लोकप्रताप शाहले सुझाव दिएको क्षेत्रीले बताइन्।

 

माइती भेट्न आए जस्तै लाग्यो

 घरमै २ वटा लैना भैँसी भएको र घिउको खाँचो नभए पनि एक माना घिउ लिएर घरमा आउँदा खुसीको सीमा नै नरहेको भन्दै घरमा घिउ नहुनेलाई एक माना घिउको धेरै महत्व हुने र माइती भेट्न आएजस्तो हुने गरेको क्षेत्रीको भनाइ छ।

यस्तै सुआहाराले गर्भवती भएका महिलाहरुलाई पाँच वटा अण्डा , साबुन र नेल कटर दिने गरेको सुआहारा कालीगण्डकी गाउँपालिकाका संयोजक पोषक पौडेलले जानकारी दिए।

गत वर्षको असारदेखि माघ ३ गतेसम्म वडा भित्र रहेका ३५ जना सुत्केरीहरूलाई  एक माना घिउ लिएर भेट्न गएको वडा अध्यक्ष लोकप्रताप शाहले बताए। उनले आफूले व्‍यक्तिगत खर्चमा सुत्केरीको घरमा एक माना घिउ लिएर जाने गरेको र बच्चासँगै आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन सुझाव दिने गरेको जानकारी दिए। उनले यस कार्यलाई अभियानकै रुपमा जारी राख्ने दाबीसमेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.