|

शनिबारको दिन अन्य दिनको तुलनामा केही शान्त छ काठमाडौं। यसै दिन आफूलाई भने सहचालकको क्‍लास लिने अवसर जुटेको छ। सहचालकको क्‍लास लिनका लागि त्यति दु:ख गर्नुपर्ने अवस्था पनि छैन। काठमाडौंभित्र सार्वजनिक यातायातमा यात्रा गरियो भने सजिलै पाइन्छ।

सामान्यत: सहचालकको क्‍लासमा कसरी बस्ने, कसरी उठ्ने, कता फर्कने, हिँड्दा के कुरामा ध्यान दिने यावत विषयमा धेरै जानकारी पाइन्छ। धेरै कुरा जानकारी पाउने भए पनि अल्छी भएको कारण म भने केहिलेकाहीँ मात्रै यस्तो क्‍लास लिने गरेको छुँ। सहचालकको क्‍लास लिनको लागि सार्वजनिक यातायात चढ्नु पहिलो सर्त हो। तर, आफू त अल्छी परियो धेरै काठमाडौं हिँडेरै पुगिन्छ। जाँगर लाग्दा सार्वजनिक यातायात चढ्ने हो।  

शनिबारको दिन जाँगर आयो सार्वजनिक यातायात चढियो। यात्रा गरेबापत निश्‍चित शुल्क नतिरी त कहाँ हुन्थ्यो र, तर सहचालकको क्‍लास भने सित्तैमा लिन पाइन्छ ‘पाँडो किन्दा भैंसी उपहार’। यात्रा सुन्धारादेखि रानीवनसम्मको थियो। 

सहचालकको उत्तर आउँछ सिट छ देख्‍नु भएन?  सिटमा अरू मान्छे भएर पो तपाईंलाई बसाउन सकिएन।

सुन्धारामा ‘गुडान’ गर्ने तयारीमा रहेको गाडीमा बसियो। क्‍लास सुरु हुन केही समय लाग्यो। हुन त सबै समय र परिस्थितिअनुसार हुने भएर होला। गाडीको सिट फूल भएर मात्रै सुरु नहुँदो रहेछ, (निश्‍चित मापदण्ड हुने नै भए) केही समयको प्रतीक्षापछि उभिनेको संख्या पनि पुग्यो क्यार। त्यसपछि सुरु भयो  सहचालकको क्‍लास चरण-चरणमा:

चरण १

बच्चा काखमा लिनुहोला, नजिकै झर्ने व्यक्ति ढोकाको छेउमा बस्नुहोला। सिट बाहिर खुट्टा नल्याउनुहोला।

चरण २–

केही मिनेटपछि दोस्रो चरणको क्‍लास सुरु भयो। कोर्स दोहोर्‍याउने कुरा भएन। सहचालकले उभिएर यात्रा गर्नेहरूको लागि दोस्रो चरणको क्‍लास केन्द्रित गर्छन्। एकहातले मात्रै डण्डी समाउने, दायाँ वा बायाँतिर मात्रै फर्कने।

कतिले बुझेर त्यस्तै गरिहाल्छन्। कति बुझ्दैनन्। ओ दाइ, ओ दाइ सुन्नु भएन। उता जानु भनेको होइन, एकातिर मात्रै फर्कनु भनेको सुन्नु भएन। अटेरी कति सहचालकसँगै जंगिन्छन् कतिले उसै गर्छन्। फेरि सहचालक अन्य यात्रीलाई क्‍लास दिनका लागि बोलाउँछन्। मिहिनेती सहचालक ढोका बाहिरबाट पनि क्‍लास दिन्छन् टाउको भित्र राख्‍नु है टाउको भित्र राख्‍नु।

चरण ३–

सुरु हुन्छ चरण तीनको क्‍लास, चरण तीनमा भने सहचालकको दु:ख पनि कम हुँदैन। झ्यालबाट छिरिरे सहचालक क्‍लास दिन्छन्। सबै खाली ठाउँ भर्नुपर्ने उनको माग हुन्छ। दुब्ला-पातला, होचा-पुड्कालाई केही सहज पनि हुन्छ। सहचालकले कसैको काखमा पनि राखिदिन्छन्। तेस्रो चरणमा उनले कतिपयलाई एक खुट्टा सिटभित्र र अर्को खुट्टा सिटबाहिर राखेर बस्न भन्छन्।

बाहिर निस्‍कने बेला कसैको खुट्टा नकुल्ची निस्कन सक्दैनन्। खुट्टा कुल्चिएपछि नरिसाउने कुरै भएन। एउटा आँखा देखिँदैन? भन्छ, अर्कोले देख्‍नै पाएको छैन भन्छन्। खुट्टो कुल्चियो भन्दै अहिले कराएको प्यासेन्जर फेरि अर्को प्यासेन्जरको खुट्टा कुल्चिन पुग्‍छ।

केही वयो-वृद्धा पनि उसले जसो भन्यो त्यसै गर्छन्। त्यसै बीचमा एक वयो-वृद्धाको आवाज आउँछ बाबु मलाई त गाह्रो भयो अघि सिट छ भनेर चढाएको हैन। सहचालकको उत्तर आउँछ सिट छ देख्‍नु भएन?  सिटमा अरू मान्छे भएर पो तपाईंलाई बसाउन सकिएन। वयो वृद्धाको फेरि आवाज आउँछ त्यसो भए रोकिदेऊ म जान सक्दिनँ। गुडानमा रहेको गाडी भनेकै ठाउँमा रोकिने कुरा भएन। भाडा ठिक्क पार्दै गर्नु मिलाएर झार्दिउँला।

जति क्‍लास दिए पनि प्यासेन्जर नै ‘खराब’ भएपछि कहाँ हुँदो रहेछ र? झर्ने बेलामा पनि झगडा गर्छन्। सहचालकले व्यवस्थापनमा आफ्नो भूमिका देखायो २५ सिटे बसमा ५० जना अटायो। झार्ने जिम्मा त सहचालकको कहाँ होर।

अघिसम्म सहचालकसँग झगडा गर्नेहरू अहिले झर्ने बेलामा आफू-आफू पनि झगडा गर्छन्। झगडा नगर्नलाई ‘हेपिनु’ पर्छ। हेपिने त हाम्रो संस्कार पनि त हैन। बाहिर निस्‍कने बेला कसैको खुट्टा नकुल्ची निस्कन सक्दैनन्। खुट्टा कुल्चिएपछि नरिसाउने कुरै भएन। एउटा आँखा देखिँदैन? भन्छ, अर्कोले देख्‍नै पाएको छैन भन्छन्। खुट्टो कुल्चियो भन्दै अहिले कराएको प्यासेन्जर फेरि अर्को प्यासेन्जरको खुट्टा कुल्चिन पुग्‍छ।

झगडा गर्नेले गरे पनि सिक्नेले सार्वजनिक यात्रा गर्दा धेरै सिक्छ। त्यसैले सहचालकको क्‍लास लिन पाउँदा म त खुसी छु। तपाईं हुनुहुन्छ कि नाइँ? हुन त यस्तो भाग्यमानी सबै कहाँ हुन्छन्। कति को त आफ्नै सवारीसाधन पनि छ। कति अल्छी छन् खालि हिँड्न मात्रै खोज्छन्।

तर, धेरैले लिने यस्तो क्‍लासको  कहिलेकाहीँ सरकारले ‘डाहा’ गरेजस्तो पनि लाग्छ। त्यसैले सिट संख्याभन्दा बढी यात्रु चढाउन नपाउने भन्छ। यदि सिट संख्‍याभन्दा बढी संख्या मात्रै नचढाएमा सहचालकले क्‍लास दिँदैनन्। सम्झनुस् सहचालकको क्‍लास नभए सार्वजनिक यातायात कति खल्लो होला। त्यसैले सरकार जनताको कुरा सुन्‍नतर्फ नै लाग्छ। सहचालकले क्‍लास दिने वातवरण बनाइदिइ रहेको छ। लिन जाने हैन त सहचालकको क्‍लास?…

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.