|

युरोपेली युनियनले सबै मोबाइलमा फिट हुने गरी ‘कमन चार्जर’को उत्पादन थालिनुपर्ने निष्कर्ष निकालेको छ।

यो साता युरोपेली युनियनको सदनमा यस विषयमा व्यापक छलफल भए। मोबाइलमात्र नभई ट्याव्लेट, ई–रिडर र डिजिटल क्यामेरामा पनि फिट हुने किसिमको ‘कमन चार्जर’ बनाउनेबारे छलफल भएको हो। सांसदहरूले कम्तीमा युरोपमै मात्र भए पनि उत्पादकहरुले ‘कमन चार्जर’ उपलब्ध गराउनुपर्ने धारणा राखे।

त्यसो भएको खण्डमा प्रयोगकर्ताहरूले सधैं चार्जर बोकेर हिँडिराख्नु पर्दैन र कहिलेकाहीँ साथीको चार्जर माग्दा आफ्नोमा फिट हुँदैन कि भनेर चिन्ता लिनु पनि पर्दैन।

मोबाइल प्रयोगकर्तालाई सहज बनाउनका लागि मात्रै भने ‘कमन चार्जर’बारे बहस भएको होइन। यो बहसमा विद्युतीय सामग्रीजन्य फोहरको उत्पादन कम गर्ने उद्देश्य लुकेको छ। सदनमा जनाइएअनुसार युरोपेली युनियनभित्र प्रतिवर्ष मोबाइलको चार्जरबाटमात्रै ५१ हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ।

‘हामी त्यो फोहरलाई समुन्द्रमा फ्याँकिरहेका छौं’, पोल्यान्डबाट युरोपेली सदनमा प्रतिनिधित्व गर्ने रोजा थनले भनिन्, ‘त्यस्ता विद्युतीय सामग्रीको माग बढ्दैछ, जसले गर्दा फोहर बढ्दैछ, प्राकृतिक स्रोतको दोहन पनि बढ्दैछ।’

सांसदहरूका अनुसार ‘कमन चार्जर’को व्यवस्था भएमा उपभोक्ताहरूलाई मोबाइल किन्दा सस्तोसमेत पर्न जान्छ। किनकि, त्यसो भएको खण्डमा ‘डेडिकेटेट चार्जर’ किनिरहनु पर्दैन। पहिल्यै घरमा भएकैले नै काम चलाउन सकिन्छ। मोबाइल किन्दा चार्जर पनि किन्नुपर्ने अनिवार्यता हट्छ।

बजारमा अहिले ३० भन्दा धेरैथरीका चार्जर पाइन्छन्। सामसुङको चार्जर एप्पलको फोनमा मिल्दैन, एप्पलको नोकियामा मिल्दैन। सन् २००९ मा युरोपेली आयोगले यी तीन विश्व प्रसिद्ध कम्पनीहरू एप्पल, सामसुङ र नोकियालाई ‘एकअर्काको उत्पादनमा फिट हुने’ चार्जर बनाउन सहमत गराएको थियो। तर‚ उक्त सहमतिले व्यवहारिक रुप लिन सकेन। उत्पादकहरूले भिन्दाभिन्दै प्रकारका चार्जरहरू बजारमा पठाइराखे। त्यसैले युरोपेली सांसदहरू यसपटक मोबाइल उत्पादकहरूविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन्।

सुरूमा त एप्पलले ‘कमन चार्जर’ बनाउने प्रस्तावलाई ठाडै इन्कार गरेको थियो। त्यसो गर्दा सिर्जनशीलता नष्ट हुने र उत्पादकहरू निरुत्साहित हुने उसको तर्क थियो। तर‚ सांसदहरूले यो विषय उठाउन छाडेनन्। उनीहरूले ‘कमन चार्जर’ बनाउँदा प्राप्त हुने फाइदाको फेहरिस्त नै प्रस्तुत गरे।

युरोपेली सदनले यसबारे ठोस निर्णय लिनुअघि यससम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने एजेन्सीहरूले जनाएका छन्। मोबाइल उत्पादकहरूले भने यस विषयमा आफुहरू पनि पर्याप्त गम्भीर रहेको भन्दै ‘वायरलेस चार्जर’को प्रयोग बढाउन लागेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.