|

धनकुटा : धनकुटामा जारी शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल सम्पन्न भएका छन्। शनिबार सम्पन्न खेलमा धनकुटा फुटबल क्लब धनकुटा र कन्काइ फुटबल क्लब झापा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन्। 

प्रतियोगितामा धनकुटा फुटबल क्लबले इलाम ११ लाई र कन्काइ फुटबल क्लबले पाँचथर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न पहिलो खेलमा धनकुटा फुटबल क्लबले इलाम ११ लाई टाइ बेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो।

धनकुटा फुटबल क्लब र इलाम ११ बीच सम्पन्न खेलमा निर्धारित समयमा कुनै गोल नभएपछि खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको थियो। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा धनकुटाले इलामलाई निकै दबाबमा राखेको थियो। खेलमा दुवै तर्फबाट पटकपटक पाएको मौका गुमाउँदा खेल टाइ ब्रेकरमा धकेलिएको थियो।

टाइ बेकरमा धनकुटाका सुनिता राई, अञ्जना थुलुङ राई, अनिता लम्जेल, भूमिका राई र सुस्मिता राईले गोल गरे भने इलामका सिजन खवास, अनिता राई, सोमरानी बान्तवा र प्रिया बस्नेतले गोल गरे।  इलामकी प्रिया राईको प्रहार धनकुटाकी गोलकिपर सुस्मिता राईले रोकेकी थिइन्।

खेलको वुमन अफ द म्याच धनकुटाकी विपना राई घोषित भइन्। यस्तै शनिबार नै सम्मन्न दोस्रो खेलमा कन्काइ फुटबल क्लबले पाँचथर फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ। खेलको दोस्रो मिनेटमा कन्काइकी सरिता शेर्पाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाइन्। त्यस्तै खेलको ३० औँ मिनेटमा कुशुम खतिवडा र ५२ औँ मिनेटमा सम्झना लावतीले १-१ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए। 

खेलमा पाँचथर पटकपटक पाएको मौका गुमाउँदा पराजय भएको थियो। खेलको वुमन अफ द म्याच कन्काइकी सम्झना लावती घोषित भइन्। प्रतियोगिताअन्तर्गत आइतबार बसाह फुटबल क्लब उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुङबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रदेश १ का विभिन्न ८ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैयाँसहित गोल्ड कप, मेडल र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

वि.स. २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र र उनका परिवार सवारी हुँदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा शहादत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो। 

शहीद घोषणा गरेकै दिनको अवसर पारेर धनकुटामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.