फागुन १ गतेदेखि ९ गतेसम्म चन्द्रागिरिमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन्।

उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए। ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरू आउनेमा हामी विश्वस्त छौँ’ उनले भने। उनले धार्मिक पर्यटनले भ्रमण वर्ष-२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे।

शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव-२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए।

‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ’ उनले भने, ‘हाम्रो देश सानो देश भए पनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौँ। हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे। ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ। यो भनेको सबैको साझा गन्तब्य हो’ धमलाले थपे।

कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौँ। नेपालमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ। तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान दिएको छजस्तो मलाई लाग्दैन्। भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ।’

कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरूले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्‍याउँने विश्वास दिलाए। ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौँ’ उनले भने। उनले उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए। भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘श्रीवैकुण्ठनाथ भगवानको असीम अनुकम्पाले विगत दुई वर्षदेखि श्रीवैकुण्ठनाथ दिव्यधाम प्रांगणमा सञ्चालन भइरहेको अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सप्ताह महापुराणको महापूर्णाहुती एवं नेपाल भ्रमण वर्ष २०२० को पावन अवसरमा यस दिव्यधामका प्रमुख संस्थापक तथा संरक्षक अनन्त श्रीविभूषित स्वामी भागवतआचार्यज्यूको सत्संकल्पमा एवम् समस्त चन्द्रागिरिवासी भक्तवृन्दहरुको सक्रियता तथा कोटी हवन आयोजक समितिको आयोनजामा यही २०७६ फाल्गुन १ गतेदेखि ९ गतेसम्म (महाशिवरात्री) तदअनुसार १३ देखि २१ फेब्रुअरी २०२०) सम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सव हुने जानकारी गराउँछौँ।’

समितिका अनुसार दैनिक कोटी हवन बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ। उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन बिहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.