|

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा बताएका छन्। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले काठमाडौंमा गरेको ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद : केही दृष्टान्त एवं परिचर्चा’ कार्यक्रममा उनले अनुवादले एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने बताएका हुन्।

उनले असमका नेपाली लेखकहरूले आफ्नो पितृभूमिको भाषामा लेखेका कृतिले त्यहाँको संस्कृति जीवन्त बनाएको बताए। उनले अनुवाद गर्दा ‘हरे राम हरे कृष्ण’ जस्ता शब्दावलीको अर्को अर्थ नखोजी त्यस्ता शब्दावलीलाई नबङ्ग्याई जस्ताको तस्तै राख्नुपर्ने विचार व्यक्त गरे।

कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यमा अनुवादको अपरिहार्यतामाथि जोड दिँदै नेपाली साहित्यलाई विश्वका अन्य भाषामा र विश्वका विभिन्न भाषाका साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा प्रज्ञा-प्रतिष्ठान प्राथमिकताका साथ लागेको बताए। उनले भने, 'अनुवाद गर्नका लागि अनुवादकला चाहिन्छ। यसका लागि कसरी उत्कृष्ट अनुवाद गर्ने भनेर अनुवादकले विचार पुर्‍याउनु पर्ने हुन्छ।'

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आजको दुनियाँ अनुवादको दुनियाँ भएको उल्लेख गर्दै बिनाअनुवाद साहित्यको अन्तर्राष्ट्रियकरण हुन नसक्ने विचार व्यक्त गरे। उनले प्रयोगका माध्यमबाट अनुवाद कला सिकाउन सक्ने अनुवादक स्वयं कार्यपत्र प्रस्तोता भट्टराई भएको उल्लेख गर्दै ‘नेपाली लेखकले नोबेल पुरस्कार नपाएसम्म म मर्दिनँ’ भन्ने वाङ्मय शताब्दी पुरुषको अठोटलाई नेपाली स्रष्टा लेखक तथा अनुवादकले नोबेल पुरस्कार प्राप्त गर्ने गरी कृतिको पहिचान र अनुवाद गर्नुपर्नेमा जोड दिए।

प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग प्रमुख एवं कार्यक्रमकी संयोजक प्राडा उषा ठाकुरले कार्यक्रमको विषयमाथि प्रकाश पार्दै विश्वका विभिन्न भाषा बोल्ने मानिससँग भावानात्मक र भाषिक सम्बन्ध सम्प्रेषणीय ढंगले गाँस्ने सेतु भनेकै अनुवाद भएको हुँदा अनुवाद कार्य महत्वपूर्ण रहेको बताइन्। सो अवसरमा उनले आफ्नो अनुवाद विभागबाट भएगरेका कार्यका बारेमा जानकारी गराइन्।

गोष्ठीका सभाध्यक्ष प्राडा अभि सुवेदीले अनुवाद स्वतन्त्र हुनुपर्ने उल्लेख गर्दै आफूले अहिलेसम्म सबैभन्दा राम्रा अनुवादक भानुभक्त आचार्यलाई पाएको बताए। संस्कृतका सूक्ष्मतम् कुरालाई पनि सरल र सम्प्रेषणीय ढंगले भानुले नेपालीमा अनुवाद गरेको सुनाउँदै उनले देशभित्रकै अन्तर मातृभाषामा पनि अनुवादको जरुरी रहेको औँल्याए।

गोष्ठीमा प्राडा गोविन्दराज भट्टराईले ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद : केही दृष्टान्त एवं परिचर्चा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कार्यपत्र प्रस्तुत गर्दै साहित्यको आत्मा संस्कृतिले निर्मित हुने हुँदा अनुवाद गर्दा सांस्कृतिक अनुवादलाई महत्व दिनुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.