|

चितवन : पूर्व-पश्चिम राजमार्गलाई जोड्ने नारायणी पुलमाथि महिनौंदेखि बत्ती बलेको छैन। पुलमाथिको बत्ती लामो समयदेखि नबल्दा रातिको समयमा हिँड्न समस्या परिरहेको सर्वसाधारणको गुनासो छ। 

४२० मिटर लामो यस पुलले चितवनको मुख्य बजार नारायणगढ र छिमेकी जिल्ला नवलपुरको गैंडाकोटलाई जोडेको छ। पुलमाथि बत्ती नबल्दा रात्रिकालीन यात्रुलाई समस्या परेको छ। 

पुलमाथि १६ वटा बिजुलीको पोल छन्। ती सबै पोलमा बत्ती नबलेको ६ महिनाभन्दा धेरै भइसकेको छ। कुनै पोलको बत्ती फुटेको छ, कुनै जलेको, कुनै पोलमा बत्ती नै छैन। कुनै पोल भाँच्चिएका छन्। रातको समयमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। 

गैंडाकोट–४ का ३५ वर्षीय नवीन बस्नेतले रातको समयमा पुलमाथि हिँड्न निक्कै डर लाग्ने गरेको सुनाए। ‘हरेक रातको अँध्यारोमा पुलमा हिँड्नुपर्छ। कहिले काहीँ ढुंगा, फलामका टुक्रामा खुट्टा ठोकिन्छ,’ उनले भने, ‘कपडा, बोरामा अल्झिएर लडिन्छ।’ 

नवीन सवारी चालक हुन्। भरतपुर महानगर क्षेत्रमा दिउँसो गाडी चलाएर हरेक रात उनी आप्mनो कोठा गैंडाकोटतर्फ पुलको बाटो हुँदै हिँडेर जाने गरेको छन्। उनले भने, ‘म हरेक दिन हिँड्छु। ४÷५ महिनाअघिसम्म १÷२ वटा बत्ती बल्थ्यो। अहिले कुनै पनि बल्दैन।’

यस्तै, गैडाकोट नगरपालिका–२ की ४९ वर्षीया शारदा कुमालले पनि रातिको समयमा पुलको बाटो हुँदै हिँड्न डर लाग्ने गरेको सुनाइन्। हाइवेमा, भित्री सडकमा, बजार क्षेत्रमा हिँड्न समस्या नभए पनि पुलमाथि रातको समयमा हिँड्न भने निक्कै गाह्रो हुने उनले बताइन्। उनले भनिन्, ‘अँध्यारोमा ठोक्किएर नारायणीमा खसे कसैले देख्दैनन्।’

पुलको गैंडाकोटतर्फ छेउमा एउटा बत्ती बल्ने गरे पनि त्यो राति ८ नबज्दै निभ्छ। सामुदायिक सेवा केन्द्रमा पसल सञ्चालन गर्दै आएका सागर कुमार गुप्ताले भने, ‘राति ८ नबज्दै बत्ती अफ हुन्छ। कसले बाल्छ, कसले निभाउँछ केही थाहा छैन।’

पुलको छेउछेउमा फराकिला फलामका तेर्सो डण्डी भए पनि यात्रु लडे नदीमा खस्ने सम्भावना बढी छ। छेउमा कुनै तारबार नभएकाले धेरैजनाले यस पुलबाट हामफालेर आत्महत्या समेत गरिसकेका छन्। 

नारायणी पुलमा हुनसक्ने जोखिम कम गर्न तथा रोकथामका लागि नारायणगढतर्फ छेउमा सशस्त्र प्रहरीको टुकडी पनि राखिएको छ। तर, पुलमाथि बत्ती नबल्दा अँध्यारोमा निगरानी गर्न समस्या रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्र गिरीले बताए। ‘घटना भइहाले पनि अँध्यारोमा देखिँदैन,’ गिरीले भने, ‘पुलमाथिको बत्ती बलेको भए सम्भावित दुर्घटनाको क्षति कम गर्न सहज हुने थियो।’
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुल हुँदै दैनिक १५ हजारभन्दा धेरै सवारी साधान गुड्ने गर्दछ। लामो तथा छोटो दूरीको सवारी साधन चौबिसै घण्टा गुड्ने पूर्वपश्चिम राजमार्गलाई जोड्ने नारायणी पुलमाथि बत्ती बाल्न सम्बन्धित निकायको ध्यान पुगेको छैन। 

२०३८ सालमा बनेको पुल जीर्ण बन्दै गएका छ। नयाँ पुल बनाउने विषयमा बेलाबेला चर्चा पनि हुने गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन। 

समाधान गर्ने प्रतिवद्धता 

चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैंडाकोट नगरपालिकालाई जोडेको पुलमाथि कसले बत्ती राख्ने विषय अन्योल छ। पुल दुवै नगरको आधाआधा हिस्सा पर्छ। भरतपुर महानगरपालिकाले समस्या समाधानका लागि काम सुरु गर्ने जनाएको छ। महानगरका प्रमुख रेनु दाहालले सर्वसाधारणले भोगिरहेको समस्या समाधानका लागि महानगरले जतिसक्दो छिटो कदम चाल्ने प्रतिवद्धता जनाइन्। 

महानगरका प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज जोसीले पूर्व–पश्चिम राजमार्ग भएकाले सडक विभागको मुख्य दायित्व भएको बताए। 

उता गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पनि नारायणी पुलमाथि छिट्टै बत्ती बाल्ने बताए। उनले भने, ‘भरतपुर र गैंडाकोट नगरपालिका दुवैको अधिकार र दायित्व बराबरी हो, हामी समन्वय गरेर अघि बढ्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.