|

डडेल्धुरा : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ हुने भएको छ। ‘सुखी नेपाली समृद्ध नेपाल : कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको हो।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको जनाएकाे छ। वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

२०६५ सालमा पहिलोपटक महोत्सव गरेकाे उद्योग वाणिज्य संघले यसवर्ष नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। ‘महोत्सवमा कृषिबाट उत्पादित वस्तुको प्रदर्शनी तथा बजारीकरणको व्यवस्था मिलाउने छ।

साँस्कृतिक क्षेत्रको प्राचीनता र महत्वको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागेका हौँ,’ अध्यक्ष भट्टले भने।महोत्सवमा लघु उद्यम प्रदर्शनी, कृषि उत्पादन, गार्मेन्ट, जुत्ताचप्पल, वैकल्पिक ऊर्जा, गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, उपकरण यान्त्रीकरण सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, शिक्षा स्वास्थ्य क्षेत्रका सेवा, लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको उनले बताए।

राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने संघले जनाएको छ। महोत्सवमा बडालको चौलो, मारूनी नृत्य, छलिया नृत्य महिला परूष देउडा, झाँकी प्रदर्शन गरिने जनाइएको छ। महोत्सवमा माडा, रोटी, कोदाको रोटी, डुब्कालगायतका डोटेली खानाका विशेष परिकारहरू रहनेछन्। 

महोत्सवमा २०१ स्टल रहने जनाइएको छ। महोत्सव सफल पार्नका लागि विभिन्न समितिहरू गठन गरिसकेको अध्यक्ष भट्टले बताए। १५१ सदस्यीय मूल आयोजक समिति, स्वागत सत्कार तथा सांस्कृतिक समिति, प्रचारप्रसार समिति, स्टल बुकिङ तथा अर्थ संकलन समिति, मञ्च सजावट तथा स्टल टिकट व्यवस्थापनलगायत समितिहरू गठन गरिएको उनले जानकारी दिए।

उद्योग वाणिज्य संघको निर्वाचितपछि मनोनित गर्नुपर्ने सदस्यहरू पनि मनोनित गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले जानकारी गराए। मनोनित हुने सदस्यहरूमा नेत्रप्रसाद अवस्थी, गणेशप्रसाद भट्ट र मीना फुलारा रहेका छन्।

अमरगढी नगरपालिका ४ टुँडिखेलमा आयोजना हुने महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ। महोत्सव गर्न ५० लाख रुपैयाँ खर्च हुने डडेल्धुरा उद्योग वाणिज्य संघको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.