अरु दातृनिकाय पनि तर्सिने डर भयो

|

काठमाडौं : राष्ट्रिय सभाकी सदस्य कोमल वलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई संसदबाट पारित गर्नुपर्ने बताएकी छन्। 

राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै उनले एमसिसीलाई सबै राजनीतिक दलले समर्थन गरिसकेकाले अब संसदबाट पारित गरिनुपर्ने बताएका हुन्। 

‘एमसीसीलाई सबै राजनीतिक दलले समर्थन गरेका छन्। कुनै पनि दलले निर्णय नै गरेर यसको विरोध गरेका छैनन्’, उनले भनिन्, ‘कांग्रेसले पनि एमसिसी आउनुपर्छ भनिरहेकै छ। एमसिसीबारेमा हामी कतै चुकिरहेका त छैनौँ। जनतालाई बुझाउन हामी चुकिरहेका त छैनौँ।’

सांसद वलीले सरकारले जनतालाई कुरा बुझाउन नसक्दा मानिसहरुले भ्रम फैल्याइरहेका जिकिर गरिन्। ‘सरकारले किन जनतालाई बुझाउन नसकेको हो? पहिलो दायित्वबाट सरकार किन चुकिरहेको छ,’ उनले अगाडि थपिन्, ‘बरु दातृनिकायको दूतावासले बुझाउन थालिसकेको छ। दातृनिकाय वा उसले जनता हाम्रा जनतालाई बुझाउनुपर्ने त होइन होला।’

एमसिसीमा देखिएको लफडाले भोलिका दिनमा अन्य दातृनिकाय पनि भड्किने उनले बताइन्। ‘यस्तो लफडाले अरु पनि दातृनिकाय तर्सिन सक्छन् भविष्यमा। हामी विकासोन्मुख मुलुक हौँ, हामीलाई सहयोग चाहिन्छ’, उनले थपिन्, ‘अमेरिकाले एमसिसी इन्डो प्यासिफिक स्ट्रटेजीसँग सम्वद्ध छैन भनिसकेको छ। अब हरेक कुरामा प्रश्न उठाएर हाम्रै छविमा आँच आउने काम गर्‍यौँ भने के हुन्छ?’ 

उनले ठूला दलहरु नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले यसबारेमा कुनै प्रश्न नउठाएको बताइन्। 'ठूला दलहरुले त केही भनेका छैनन्। एमसिसीबारे नकारात्मक कुरा उठाउनु ठीक होइन, यसका सबै कुरा प्रष्ट छन्’, उनले थपिन्, ‘संसदले एमसिसी अनुमोदन गरोस। यसलाई कार्यान्यनमा लैजान ढिला गर्नु हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.