|

भद्रपुर (झापा) : नेपाल भ्रमण वर्ष सुरु भए पनि सडक सञ्जालसँगै पर्यटकीय क्षेत्रबाटै ओझेलमा परेको नेपालकै होचो भू-भाग कचनकवल स्तम्भ पुग्ने चारआली-केचना रिङरोडको काम सुरु भएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लागेको चारआली-केचना रिङरोडको बजेट संघीय वा प्रदेश सरकार कसले छुट्टाउने विषयमा विवाद भएपछि काम ठप्प बनेको थियो। अन्ततः ठेक्का लागिसकेको रिङरोड संघीय सरकारले सो रोड बनाउने बजेट विनियोजन गरेपछि शुक्रबारदेखि काम सुरु भएको हो।

झापाको कचनकवल गाउँपालिका–४ स्थित नेपालकै होचो भू-भाग कचनकवल स्तम्भसम्मको गन्तव्य पुग्ने कालोपत्रे सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँनै समस्या परेको छ।

भारतीय सीमावर्ती नाकानजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ कचनकवल स्तम्भ भएर जाने रिङरोड बनाउने योजना अघि सारे। सोही योजना बमोजिम सरकारले ठेक्का लगायो। तर, सरकारले ठेक्का लगाएको चारआली–केचना रिङरोडको काम बल्ल चार वर्षपछि सुरु गरेको छ। 

केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चारआली केचना सडकसम्म जोड्ने रिङरोडको काम अहिले धमाधम भइरहेको छ। नेपाली कांग्रेसको सरकार हुँदा २०७३/०७४ मा रकमको सुनिश्चित नगरी तत्कालीन सरकारले धेरै बहुवर्षीय योजनाको काम सुरु गरेको थियो। सोही योजनामै परेका कारण यो सडकको यतिका दिनसम्म ठप्प रहेको झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङदेनले बताए।

‘लामो मेहनतपछि नेपालकै होचो भाग जोडने कचनकवल स्तम्भको सडक बन्न लागेको हो’, सांसद लिङदेनले भने, ‘यसअघि वर्तमान सरकारले यो सडक निरन्तरता दिने भनेर टुंग्याएको थियो। तर मलगायत विकास तथा प्रविधि समितिले बहुवर्षीय सबै योजनाहरू प्रदेश वा स्थानीयबाटै सञ्चालनका लागि सरकारलाई निर्देशन दिएपछि यो सडकको कामले तीव्रता पायो।’

सडकसँगै गाउँपालिकाको स्तम्भ बनाउने गुरुयोजना पूरा भएपछि गाउँपालिकामा पर्यटक भित्रिने उनले बताए। डिभिजन सडक कार्यालय दमकले मेची राजमार्गको केचना-चारआली जोड्ने रिङरोडको ठेक्का लगाएको हो। निर्माण कम्पनी लामा-वाम्ती-वर्ल्ड जेभीले २०७३ साल माघ २२ मा ठेक्का सम्झौता गरेको थियो।

१६ करोड ३६ लाख ५० हजार ७५५ रुपैयाँ लागत रकम रहेको सो रिङरोड निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी १२ करोड १२ लाख ९४ हजार २८१ रुपैयाँमा ठेक्का लिएको हो। ८.२ किलोमिटरको रिङरोडमा ह्युमपाइप तथा स्ल्याब कल्भर्ट निर्माण हुनेछ।

रिङरोड बनाउने काम संघीय कि प्रदेश सरकारले गर्ने दोधारमा रहेकोले यसको बजेट सुनिश्चित हुन नसक्दा लामो समयसम्म निर्माण कार्य  रोकिएको डिभिजन सडक कार्यालय दमकका सब इन्जिनियर सरोज सुवेदीले बताए। रिङरोडको गाभ्रेल सडक बनाइने पहिलो चरणको बेसको काम यसअघि नै सम्पन्न भइसकेको छ।

सडक पर्नेमा ह्युमपाइप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ भने केही बनाउन बाँकी छ। अहिले सडकलाई समाउने काम धमाधम भइरहेको निर्माण कम्पनीका प्राविधिक वैद्यनाथ महतोले बताए। साढे ५ मिटरको कालोपत्रे बन्ने सडक निर्माण द्रूत गति अघि बढाइने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.