|
फाइल फाेटाे

काठमाडौं : अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परि चारदिनदेखि हराएका चार कोरियाली र तीन नेपाली नागरिक अझै पनि बेपत्ता छन्। अन्नपूर्ण बेसक्याम्प नजिकैको हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन्। केही पर्यटकहरु पहिरो छलेर सुरक्षित ठाउँमा आउन सफल भएपनि यी सात जना भने पहिरोकै कारण बेपत्ता छन्।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन अझै पनि बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ। उता पर्यटकहरु हराएको खबर थाहा पाउने वित्तिकै उद्धारमा जुटेको टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आइतबार पत्रकारसम्मेलन गरी तत्काललाई बेपत्ताहरुको खोजी कार्य असम्भव रहेको बतायो। उद्धारको लागि गएको टोली नै हिमपहिरोको जोखिममा परेपछि पोखरा फर्किँदैछ। 

बेपत्ता भएको भनिएको क्षेत्रमा बाक्लो हिउँ जमिरहेको र हिउँ पर्ने क्रम नरोकिएकाले खोजीकार्य प्रभावित भएको टानका अध्यक्ष हरि भूजेलले जानकारी दिए। पर्यटकहरु हराएको क्षेत्रमा सडक र संचार सुविधा छैन। शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उनका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचारो लागि पुर्याईको छ। उनीहरुको स्वास्थ्य सामान्य बन्दै गइरहेको बताइएको छ। 

पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ्रे आधार शिविर, देउरालीलगायतका स्थानबाट १३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष यूवराज कुँवरले जानकारी दिए।

टानले घटनालगत्तै ६ जनाको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो। सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको छ।

हराइरहेकाहरुको आफन्तहरु समेत घटनास्थलतर्फ गएको टानका निर्वतमान अध्यक्ष एवं उद्धार टोलीका संयोजक दीपकराज अधिकारीले जानकारी दिए। त्यसैगरी कोरियनका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ। कोरियाली टोलीले आज सोमबार रेस्क्यू टोली सहित घटनास्थलमा खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी दिएको छ। 

थोरङ्ला पासमा हराएकाहरु सम्पर्कमा आए 

मनाङको थोरङला पास गर्ने क्रममा बेपत्ता भएका भनिएका चार चिनिया पर्यटक आइतबार सम्पर्कमा आएका छन्। हराएका भनिएका पर्यटकहरु थोरङला पास गरि मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका टिकाराम पौडेलले जानकारी दिए।

थोरङला पासको लागि पुस २७ गते गएका उनीहरु लामो समयसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजी सुरु गरेको थियो। उनीहरुले हिमपात र हिउँपहिरोको कारण जोखिम मोल्दै मुस्ताङ आइपुगेको स्थानीय प्रहरीलाई जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.