|

म्याग्दी : जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएपछि आवतजावत प्रभावित हुँदा गाउँले नाकाबन्दीमा परेका छन्। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिव चारफिट हिउँले आवतजावत गर्ने पदैलमार्ग नै पुरिदिएपछि स्थानीय गाउँमा आउन र बाहिर जान पाएका छैनन्।

गुर्जा हुदै देउराली, लुलाङसम्म आइपुग्न स्थानीयले जंगलमा बैकल्पिक मार्गको प्रयोग गर्ने गरेको जनकल्याण मावि गूर्जाका ब्यवस्थापन समितिका अध्यक्ष गुनाराम छन्त्यालले बताए।

'हिउँ चट्टानजस्तै जमेको छ, हिउँ नपग्लिदाँ आवतजावतमा समस्या भएको छ’ छन्त्यालले भने। हिउँका कारण बालबालिका, बृद्धबृद्धालाई आवतजावतमा समस्या भएको उनको भनाइ छ।  गाउँपालिकाको वडा नं १ गुर्जार वडा नं ३ लुलाङको सिमाना पर्ने देउरालीमा करिव चार फिट बाख्लो हिउँ जमेको छ।

देउराली गुर्जागाउँ जोड्ने घना जंगल हो। चट्टानजस्तै हिउँका कारण पदमार्ग पुरिएको छ भने गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने स्थानीय अलपत्र गरेको वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताए।

 ‘गाउँको अवस्था कष्टकर बन्दै छ,’ छन्त्यालले भने, ‘केही युवाले आइतबार गाउँबाट आउने क्रममा  हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाएपनि साँझ उक्त ट्याक्क पुरिएको छ। ‘मौसममा अझै परिवर्तन भएको छैन्, वर्षाका कारण हिमपात जारी छ।’ 

ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गुर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाइ छ। गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन्। 

गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीन महिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गर्ने गरेका छन्। हिमपातले मसिरदेखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.