|

काठमाडौं : प्रतिनिधि सभाका सभामुख चयन गर्नुअघि उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने भएको छ। 

सदनमा सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधानबमोजिम उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने भएको भएको हो। तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्यले सदन सम्हाल्नेछन्। यसपछि उनले सभामुख चयन प्रकृया अघि बढाउनेछन्। 

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार आरोपमा जेल परेपछि प्रतिनिधिसभा सभामुखविहिन छ। 

साविकका एमाले र माओवादी केन्द्रबीच एकता हुँदा सभामुख माओवादी खेमाले लिने सहमतिअनुसार महरा प्रतिनिधिसभाको सभामुख चयन भएका थिए। तर उनी जेल गएपछि सो पदमा उम्मेदवार चयनबारे सत्तारुढ नेकपामा निकै किचलो भएको थियो। पाँच महिनाको रस्साकस्सीपछि नेकपाले पूर्व माओवादी खेमाकै नेता अग्निप्रसाद सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

पार्टीले राजीनामा दिन लगातार गरेको आग्रहलाई उपसभामुख तुम्बाहाङ्फेले अस्वीकार गर्दै आएकी थिइन्। आफूले राजीनामा दिए प्रतिनिधि सभा नेतृत्वविहिन हुने तथा आफूलाई नै सभामुखमा उठाएमात्रै राजीनामा दिने उनले शर्त राखेकी थिइन्। 

पार्टीले सभामुखका लागि सापकोटालाई अघि बढाउने निर्णय गरेसँगै अब भने उनले राजीनामा दिनुपर्ने अवस्था आएको छ। तर अहिलेसम्म तुम्बाहाङ्फेले राजीनामा दिनेबारे केही बताएकी छैनन्। आजै उनले राजीनामा दिएमा प्रतिनिधिसभाले सभामुख र उपसभामुख दुवै पदमा निर्वाचन प्रकृया अघि बढाउनेछ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख चयन प्रकृया अघि बढाउने कार्यसूची तय गरिएको छ। संसदमा बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुख बन्ने पक्कापक्की छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.