|

पर्सा : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ का २५ बर्षीय शिवनाथ सहनीको हत्या अभियोगमा वीरगन्ज महानगरपालिकाका तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्ने युवा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर र रानीघाट हुन्। अभियुक्तले सहनीलाई चक्कु प्रहार गरी हत्या गरेको स्वीकारेको पर्सा प्रहरीले जनाएको छ।

सहनीको शव गएको पुस २० गते वीरगन्ज महानगरपालिकाकै वडा नम्बर २२, जगरनाथपुर स्थित बासँघारीमा शरिरका विभिन्न भागमा काटेर विभत्स  हत्या गरी फालेको अवस्थामा फेला परेको थियो।

सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा वीरगन्ज ११ श्रीपुरका २ र रानीघाटको एक गरी तीन जना युवा पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए। पक्राउ परेका युवाहरुमा वीरगन्ज ११ श्रीपुर बस्‍ने बर्ष २२ को अजय साह, बर्ष २० को राजन साह कानु र रानीघाटका २० बर्षीय कृष्ण कुमार गुप्ता रहेको पर्सा प्रहरीले जनाएको छ।

'यी युवाहरु गाँजाको सेवनकर्तासमेत रहेको र सीमापारी गई टेम्पो लगायतका साना सवारी साधनमा तस्करी पनि गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ। त्यसै क्रममा एकदिन अजय साह भन्नेको सामान पक्राउ पर्दा मृतक सहनीले सुराकी दिएर पक्राउ परेको भन्ने अजयलाई आशंका रहेको र पुनः गाँजा खाने क्रममा सो कुरा निस्किएर र चक्कु प्रहार गरी मारेको तथ्य फेला पर्‍यो,' प्रहरी उपरीक्षक राठौरले भने।

गाँजा काट्न अजयले सधैं चक्कु बोक्ने गरेको प्रारम्भिक बयानका क्रममा खुलासा गरेका छन्। यो घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.