|

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिकामा पनि एक दर्जन छाउगोठ भत्काइएका छन्।

सोमबार प्रहरीले आलिताल गाउँपालिका ७ बलौचा र चिनीगौडा टोलमा रहेका १२ वटा छाउगोठ भत्काइएका हुन्। प्रहरीचौकी आलिताल डडेल्धुराका प्रहरी सहायक निरीक्षक कोमलप्रसाद जोशीको टोलीले जनप्रतिनिधि, आमा समूह र स्थानीयको सहभागितामा ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत छाउगोठ भत्काउने अभियानका क्रममा टालेबासीले प्रयोग गर्दै आइरहेका छाउगोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक  दधिराम न्यौपानेले जानकारी दिए। 

आलिताल गाउँपालिका ६ मा छाउपडी कुप्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको थियो। यसअघि गत मंगलबार पनि प्रहरीले आलिताल गाउँपालिका ६ धिमडामा रहेका ११ वटा छाउगोठ भत्काएको थियो।

छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने यस क्षेत्रको चलन कायमै छ।

मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ। 

गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन ९ वटै जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.