|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ प्रदान गर्ने भएको छ। वीरेन्द्रनगर ११ चनौटेकी गीता सिंजाली खाम्चुको बायोमेट्रिकमा क्लिक गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेवाको औपचारिक रुपमा उदघाटन गरेका हुन्।

सोमबारदेखि सुर्खेतस्थित कार्यालयबाटै लाइसेन्स वितरण गर्ने गरी यातायात व्यवस्था विभागले अनलाइन फारम खुला गरेको हो। विभागले सुर्खेतबाटै लाइसेन्स वितरणका लागि अनुमति दिएको करिब एक वर्षपछि कार्यालयले वितरणको प्रक्रिया सुरु गरेको हो।

यातायात कार्यालय प्रमुख आनन्द चपाईका अनुसार मोटरसाइकल, स्कुटर, कार जीप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस मिनिबस र ट्रकको लाइसेन्स दिइने छ। अन्य लोडर, स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभावका कारण नसकिने उनको भनाई छ।

‘हामीले यो कार्यालयबाट विगतमा पटके, स्थायी अस्थायी रुट जारी गर्ने, नविकरण गर्ने, ब्लुबुक नविकरण गर्ने, जाँच पास गर्ने, लाइसेन्स नविकरण गर्ने र सवारी नाम सारी र दर्ता गर्ने गरेका थियौं’ उनले भने, ‘अब यही कार्यालयबाट नयाँ लाइसेन्स पनि वितरण हुनेछन्।’ उनका अनुसार दैनिक रुपमा २०० नयाँ तथा थप लाइसेन्स वितरण गर्ने गरी कार्यालय अघि बढेको उनको भनाई थियो।

सबैभन्दा बढी स्कुटर र मोटरसाइकलका लाइसेन्स जारी गरिनेछ। यी लाइसेन्स ७० वटा हुनेछन्। कार जीप, भ्यानका ३५ वटा, ट्याम्पोका ३०, इरिक्सा पाँच, पावर टेलर पाँच, ट्रयाक्टर १०, मिनिबस १० वटा दैनिक लाइसेन्स वितरण गरिनेछ। लाइसेन्स लिन चाहनेले अनलाइन फाराम भरेर कार्यालयमा आउनुपर्ने उनको भनाई छ।

भौतिक विकास मन्त्रालयका सचिव रामआधार शाहले गत साउनमै लाइसेन्स वितरण गर्ने तयारी भए पनि विविध कारणले ढिलाइ भएको बताए। मुख्यमन्त्री शाहीले प्रदेश राजधानीमा नै लाइसेन्स बन्ने भएका कारण कर्णालीवासीको ठूलो धनराशी कर्णालीमै रहने बताए।

‘विगतमा लाइसेन्स लिनको लागि सुर्खेत, दैलेख, कालिकोट, जाजरकोटलगायतका जिल्लाका युवाले नेपालगञ्ज जानुपर्ने बाध्यता थियो’ मुख्यमन्त्री शाहीले भने, ‘दुइ तीन पटक नेपालगञ्ज जानुपर्ने हुँदा आउन जान समय बढी खर्च हुने, रुपैंया पनि बढी नै खर्च हुने अवस्थाको अन्त्य भएको छ।’ वीरेन्द्रनगरमै लाइसेन्स पाइने भएपछि युवालाई रोजगारीका अवसर पनि सिर्जना हुने उनको भनाई थियो। 

‘आर्थिक अभाव भएका तर कार, व्यावसायिक सवारी साधनको लाइसेन्स लिइ रोजगारी गर्न चाहने युवाको माग सम्वोधन भएको मैले महशुस गरेको छु’ उनले भने, ‘तपाइहरू आफूले पाएको जिम्मेवारी वहन गर्दै सेवाग्राहीको चाहना अनुसार काम गर्नुहोला। सकेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्ने काम गर्न कर्मचारीलाई आग्रह गर्दछु।’

यसैबीच सुर्खेत यातायात व्यवस्था कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७१/०७२ मा एक करोड ४६ लाख ८९ हजार ४८१ राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९ लाख पाँच हजार ४५५ राजश्व संकलन गरेको थियो। त्यसैगरीआर्थिक वर्ष २०७३र०७४ मा पाँच करोड ७८ लाख पाँच हजार दुइ सय साठी रुपैयाँ संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा सात करोड ९८ लाख ७८ हजार ४५३ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ७१ लाख ५५ हजार ८६१ राजश्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको माघ पाँच गतेसम्म ६ करोड ४६ लाख ६५ हजार ६९२ रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख चपाईको बनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.