|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज 'भिडियो कन्फ्रनेन्स'मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्दैछन्। 

एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारतले यो जाँचचौकी निर्माण गरिदिएको हो। भारतले निर्माण सम्पन्न गरेको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। ओली र मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र त्यहाँबाट नेपालतर्फ ट्रक भित्रने छ। 

भारतको सिमाना नजिकै १२९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको हो। भारततर्फको जाँचचौकी भने दुई पहिले नै तयार भइसकेको छ। नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको छ। 

यो जाँचचौकी निर्माण गर्न नेपालले भारतसँग सन् २००६ मै सम्झौता गरेको थियो। तर सन् २०१६ देखि मात्र भारतले जाँचचौकी निर्माण थालेको थियो। निर्माण थालेको झण्डै पाँच बर्षपछि भारतले नेपाललाई आइसीपी हस्तान्तरण गरेको हो। 

जाँचचौकी निर्माणमा भारतलउे एक अर्ब १४ करोड भारु खर्च गरेको छ। आज प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले उद्घाटन गरेपछि यसअघि विराटनगर भन्सार कार्यालयबाट हुने गरेका सबै कारोबार यही जाँचचौकीबाट हुनेछ। साथै, विराटनगर रानीसँग जोडिएको जोगबनी बजारका साथै सीमावर्ती सडकको सवारी चाप पनि घट्नेछ। 

यो जाँचचौकी भएर शुरुमा मालबाहक सवारी आवतजावत गर्ने र क्रमशः यात्रुवाहक सवारी तथा रेलको सामान समेत आयात निर्यात गर्ने पूर्वाधार विकास गरिँदैछ। 
भारतले दुई महिनाअघि नै यो आइसीपी निर्माण सम्पन्न गरेको थियो। तर सञ्चालन गर्ने विधि टुङ्गो नलाग्दा तत्काल सञ्चालनमा ल्याउन सकिएको थिएन। 

नेपाल र भारतको सीमाका दुवैतर्फ जाँचचौकी निर्माण भएकाले अब द्विदेशीय व्यापार सहजीकरण हुने अपेक्षा राखिएको छ। विशेषगरी नेपालको पूर्वी क्षेत्रमा व्यापार सहजीकरण गर्न यो जाँचचौकीबाट निकै सहयोग पुग्नेछ। 

पारवहन अवरोध हटाउन पनि यो जाँचचौकी सहायकसिद्ध हुने सरकारी अधिकारीहरुले दावी गरेका छन्। हाल जोगवनी नाकामा हुने लामो जामले खेप्नुपरेको हैरानीसमेत हट्नेछ। साथै अव्यवस्थित भन्सारका कारण भइरहेको अनावश्यक खर्चसमेत घट्नेछ। 

अबदेखि यही भन्सार जाँचचौकीमै नेपाल–भारत आयात निर्यात हुने सामानको विषादी परीक्षण हुनेछ। यो जाँचचौकी निर्माणका लागि नेपालले भारतलाई २०७३ मंसिर २० गते जग्गा हस्तान्तरण गरेको थियो।

जाँचचौकीमा कार्गो, यात्रु टर्मीनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, क्वारेन्टाइन, कोल्ड स्टोरेज, क्लियरिङ एजेन्ट, बैंक, सीसीटीभी, पार्किङ, रेस्टराँलगायत सार्वजनिक सुविधायुक्त संरचनाहरु निर्माण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.