किसान भन्छन्- बाली जोगाउन तारबार गर्न सहयोग चाहियो

|

बारा : पर्सा राष्ट्रिय निकञ्जका निलगाई र घोडगदाले बाराका दर्जनौं किसानका मकै बालीमा क्षति पुर्‍याएको छ। रातको समयमा हलखोरिया साझेदारी वन क्षेत्रसँग सिमाना जोडिएको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानको मकै खेत/बारीमा पसेर नष्ट गरेको हो।

जीतपुरसिमराको वडा १४ को रजघट्टा, १५ को डुमरवाना र १६ को कतर्वा, पिलुवा, डकाहा गाउँको किसानले करिब १० विवाहा भन्दा बढी क्षेत्रफलमा लगाएको मकैबाली नोक्सान गरेको जीतपुरसिमरा १६ कतर्वाका किसान जगतनाथ नेपालले बताए। उनले भने, 'रातको समयमा जंगलबाट जनावर खेतीमा पसेर मकैबाली नष्ट गर्छन्। किसानलाई मर्का परेको छ।' 

निकुञ्ज विस्तार भएसँगै जंगली जनावरबाट बाली जोगाउन समस्या भएको किसानहरू बताउँछन्। ‘५ सयदेखि एक हजारसम्म प्रतिकिलोको बीउ किनेर गरेको मकै खेती जोगाउन मुस्किल परेको छ,’ किसान नेपालले भने,'किसानको नगदेबालीका रुपमा रहेको मकैबाट कमाउने भन्दा ऋणमा डुबाउने अवस्था आएको छ।’

जंगलसँग सिमाना जोडिएका किसानका बाली जोगाउन तारबार गर्न सहयोग गर्नुपर्ने किसान नेपालले बताए। किसानले जनावर बाली नपसोस् भनेर बनाइएका बार नाघेर जाने गरेको छ। किसानले प्लष्टिकका पुत्ला बनाएर राख्ने गरे पनि जनावरले दुःख दिन नछाडेको नेपालले बताए। साथै उनले किसानको बाली जोगाउने हो भने निकुञ्ज वरिपरि तारबार लगाउन आवश्यक भएको पनि बताए। 

निकुञ्ज विस्तार भएसँगै जनावर सिकारी घटेसँगै जनावर बस्तीसम्म पुग्न थालेको स्थानीय राज अधिकारीले सुनाए। निलगाई बस्तीमा पुगेर मकैको गुवा खाने गरेको छ। जंगली जनावरले मकैसहित तोरी, धान बालीमा समेत क्षति पुर्‍याएको किसानको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.