अनधिकृत पार्किङ देख्‍दा मुन्टो बटार्छन् प्रहरी

|

काठमाडौं : पाँच वर्ष बितिसक्दा पनि चाबहिल-साँखु सडक बनाइनसकेको भन्दै स्थानीयले पटक-पटक आन्दोलन गरे। धेरै पटक आन्दोलन गर्नेमा बौद्धबासी अगाडि छन्।

स्थानीयले आन्दोलन गरिरहेपछि ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पटक पटक सडक पिच गरिदिने आश्वासन दिए। 

त्यसपछि कात्तिक पहिलो सातामा बौद्धगेटबाट बौद्ध पिपलबोट सम्मको करिब एक किमि सडक कालोपत्रे भयो। तर,अहिले गाडी गुड्ने धेरै सडक पार्किङले ओगटेको छ। 

सडक विस्तार आयोजनाले बनाएको २२ मिटर र कम चौडा सडक अहिले पार्किङको लागि ओगटिएको छ। अहिले बौद्ध गेट अगाडि लस्करै ट्याक्सी, कार, मोटरसाइकल पार्किङ गरिएका छन्।

नो पार्किङमा पनि सवारी साधन पार्किङ गरिएका छन्। सवारी जाम व्यवस्थापन गर्न दैनिक चार /पाँचजना ट्राफिक प्रहरी खटिन्छन्। तर, अनधिकृत पार्किङ गर्नेलाई नदेखेझैँ तर्केर हिँड्छन्।

पाँच वर्षसम्म सडक पिच नहुँदा बौद्धबासीले धुलो र हिलोको सास्ती खेपे। सडक पिच त भयो तर सवारी पार्किङले उनीहरुको समस्या ज्यूँका त्यूँ छ।

बौद्धका स्थानीय निरज थापाले करौडौँ खर्चेर सडक फराकिलो बनाएपछि गाडी गुड्ने धेरैजसो भागमा सवारीसाधन पार्किङस्थल बनेको बताउँछन।

‘चौडा सडक बनेपछि सवारी पार्किङले पूरै भरिन्छ,’ पसल अगाडि गरिएका सवारीसाधन देखाउँदै उनले थाहा खबरसँग भने,‘हिँड्ने बाटो हुँदैन। अफिस समयमा सवारी जाम हुन्छ। सर्वसाधारण ओहोरदोहोर गर्न सक्दैनन्। यसले हाम्रो व्यपारमा पनि समस्या हुने गरेको छ।’

उनले विश्व सम्पदा क्षेत्रमै अनधिकृत सवारी पार्किङले अस्तव्यस्त हुनु लज्जासस्पद भएको बताए। ‘बौद्ध क्षेत्रमा सवारी पार्किङ गर्ने ठाउँ नै छैन। सबैले सडकमै ल्याएर राख्छन्', उनले थपे, 'यसले बौद्ध स्तूपा क्षेत्र कुरुप बनेको छ। पर्यटन वर्षमा घुम्‍न आउने आन्तरिक तथा विदेशी पर्यटकले फकिर्ने बेला के सन्देश लैजालान?’ 

बौद्धनाथ क्षेत्र विकास समिति र काठमाडौं महानगरपालिका वडा नम्बर ६ ले पनि पार्किङको विकल्पको खोजी र व्यवस्थापनमा कुनै चासो नदिएको उनले सुनाए।

पार्किङ व्यवस्थापन गर्ने जिम्मा बौद्धनाथ क्षेत्र विकास समितिको रहेको छ। तत्काल पार्किङ गर्ने ठाउँको व्यवस्थापन गरी बौद्ध क्षेत्रलाई स्वाच्छ र हराभरा बनाउनुपर्ने  माग स्थानीयले गरेका छन्। बौद्ध स्तूपमा घुम्‍न आउने पर्यटकका लागि सवारी पार्किङ गर्ने ठाउँकै अभाव छ। त्यसैले पनि सडक पार्किङस्थल बन्‍न पुगेको हो।

जोरपाटीस्थित नयाँबस्तीका अमिर लामाले सवारी पार्किङ गर्ने ठाउँ नहुँदा बौद्ध स्तूपमा घुम्‍न आउने पर्यटकलाई समस्या हुने गरेको बताए।

‘बौद्धमा सवारी पार्किङ गर्ने ठाउँ छैन,’उनले भने,‘मोटरसाइकल ल्याउँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। यो गाडी पार्किङ स्टेशन कि गाडी गुडाउने सडक?’

उनले ट्राफिक प्रहरी,नगरपालिका र बौद्धनाथ क्षेत्र विकास समितिकै मौनताले सडक नै पार्किङ गर्ने ठाउँ बन्‍न पुगेको बताए।

खुला ठाउँ अभावले सडककै पार्किङ

काठमाडौं महानगरपालिका-६ का अध्यक्ष दीपेन्द्र लामाले खुला ठाउँको अभावले गर्दा अहिले विकल्पको लागि सडक सवारी साधनको पार्किङस्थल बन्‍न पुगेको बताए।

‘बौद्ध क्षेत्रमा पर्यप्त मात्रामा खुला ठाउँ नहुँदा सडकमै पार्किङ गर्न दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘खुला भएको ठाउँ पनि टाढा छ। एकातिर मात्रै सवारी साधन पार्किङ गर्न दिन्छौँ। दुइतिरै पार्किङ हुँदैन। विकल्प नभएकाले ट्राफिक प्रहरी र पशुतिनाथ क्षेत्र विकास समितिसँग सल्लाह गरेर बौद्ध गेट अगाडी भने ट्याक्सी मात्रै पार्किङ गर्न दिएका छौँ।’ 

उनले ती पार्किङ विस्तारै हटाउँदै जाने बताए। उनका अनुसार सवारी पार्किङस्थलका लागि शेर्पा सेवा केन्द्रको खाली जग्गा  थियो तर, दिन मानेनन्। तोकेको निश्‍चित ठाउँमा मात्रै सवारी साधन पार्किङ गर्न दिइने लामाले बताए। 

तस्विर : शिला तिम्सिना 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.