|

भक्तपुर : सातदिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार परिसर र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाको स्थलगत अवलोकन गरेकी छन।

राजकुमार लोरेन्ज र नेपालका लागि बेल्जियमका राजदूत जान माथीसेनका साथ आएकी राजकुमारी एस्ट्रिडले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, ५५ झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले र भैरबनाथ मन्दिर लगायतका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको अवलोकन गरेको थिए।

राजकुमारी एस्ट्रिडसहितको टोलीले टौमढीमा भक्तपुर नगरपालिकाले प्रस्तुत गरेको प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच अवलोकन गरेका थिए। यसअघि राजकुमारी एस्ट्रिडको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलगायतका पदाधिकारीले खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा पुष्पगुच्छा, नेपाली थैली र ढाकाको सल लगाइ स्वागत गर्दै भक्तपुरको कला, सँस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्वारमा नगरपालिकाले काम गरिरहेको बारे जानकारी गराएका थिए।

राजकुमारी एस्ट्रिडले पनि भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति आफूहरू प्रभावित भएको र यहाँको सम्पदा विश्वकै अलौकिक रहेको प्रतिक्रिया दिइन्।

टोलीमा बेल्जियमका सञ्चार तथा कोष बृद्धि प्रमुख इल्से इरिगर्स, राजकुमारीका नीजि सचिव जीन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेसनका डा. जीन पिरेरे बारोन स्किनकेलर्स, फ्रान्कोइस डेल्हाय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत आङ छेरिङ शेर्पा, डा. सुशिल कोइराला, मेडिकल अधिकृत डा. प्रमोदराज भट्टराईलगायतको सहभागिता रहेको थियो।

टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुबारे संक्षेपमा जानकारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.