|

पर्सा : सत्तारूढ दलका ठूला नेताहरूसँग हिमचीम छ भन्दै प्रहरीमा जागिर लगाइदिने बहानामा युवालाई ठगी गरी हिँड्ने नेकपाका प्रदेशस्तरका एक नेतालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पीडितले प्रमाणसहित किटानी जाहेरी दिएपछि प्रदेश-२ का प्रदेशस्तरका एक नेकपाका नेतालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा पर्ने व्यक्ति पर्साको पोखरिया नगरपालिका-१ वनकटुवाका रामबाबु बैठा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। 'उनी कुन तहको नेता हुन्? भन्ने हामीलाई एकिन छैन। तथापि राजनीतिकर्मी हुन्। यति हामीलाई थाहा छ' उनले भने।

पर्साका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरूले बैठा प्रदेश-२ को प्रदेश कमिटी सदस्य रहेको पुष्टि गरे।

रौतहटको साविक गाविस पथरा बुधराम हालको मौलापुर नगरपालिका-७ बस्ने प्रदीपकुमार साहले दिएको उजुरीका आधारमा बैठालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। बैठाले प्रहरी सहायक निरीक्षक (असइ) मा जागिर लगाइदिने भनी पटकपटक गरी ७ लाख बुझेर ठगी गरेको खुलेको छ।

पीडित युवकले गएको कात्तिक १ गते नै पर्सा प्रहरीमा उजुरी दिएका थिए। त्यसयता बैठा फरार रहँदै आएको समयमा सोमबार बिहान उनलाई नियन्त्रणमा लिन सकिएको पर्सा प्रहरीले जनाएको हो।  

बैठाका सहयोगी सुनिल चौरसिया र ईसक कुमारलाई भने पर्सा प्रहरीले गएको कात्तिकमा नै नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो। पछि अदालतको आदेशले केही धरौटी रकम बुझाइ उनीहरू छुटेका थिए।

'बैठाका सहयोगी पक्राउ परेपछि प्रदीपकुमार साहसँग असइमा जागिर लगाइदिन्छु भनी २ लाख नगद र ५ लाख आइएमइबाट रकम लिएको पुष्टि भएको थियो' पर्साका प्रहरी उपरीक्षक राठौरले भने।

त्यहि मुद्दामा अनुसन्धानका लागि बैठालाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए। 'वर्तमान कानुनअनुसार कसुर पुष्टि भए सात वर्ष कैद र ७० हजार जरिवानासम्म हुने देखिन्छ। अनुसन्धान जारी रहेकोकोले अहिले नै यसै भन्न सकिन्न' उनले भने।

‘पैसा पनि नदिने र जागिर पनि नलगाइदिने गरेको कारण त्यहि तनावमा बुबा नारायणप्रसाद साहको पनि निधन भएको' पीडित प्रदीपले बताए। ०७२ सालबाट जागिरमा लगाइदिन्छु भन्दै बैठाले ‘मेरो पार्टीका नेता नारायणकाजी श्रेष्ठ, अर्का नेता विश्वनाथ साहसँग कुरा भइरहेको छ। उहाँहरूकै कोटामा तिमीलाई पार्ने हो' भन्दै झुलाउँदै आएको बताए। केही पार नचलेपछि प्रहरीमा उजुरी दिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.